स्याङ्जा-१ कार्तिक
अस्थाई भवनवाट कार्यालयको सेवा प्रवाह भईरहेको बिरुवा गाँउपालिकाले सुविधा सम्पन्न आफ्नै प्रशासकीय भवनको आज शिलन्यास गरिएको छ । दशै घटस्थापनाको दिन गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माद्वारा उक्त भवनको शिलान्यास गरिएको हो। बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवन बाट सेवा सञ्चालन भैराखेको थियो । जिल्लाको उत्तर पूर्वमा रहेको यस गाउँपालिकामा आधुनिक प्रशासक भवनको निर्माणसँगै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का गत आर्थिक वर्षमा सम्पन्न भएको हो । सम्झौता अनुसार श्री गीता एंड क्रियटिभ जेभीले उक्त भवन निर्माण गर्नेछ । २०७०असारमा भएको सम्झौता अनुसार १४ महिना भित्र उक्त भवनको निर्माण कार्य सम्पन्न हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीका अनुसार ७ करोड ५९ लाख ७६ हजार ८८ रुपैयाँको कुल लागतमा प्रशासकिय भवन बन्न लागेको हो । उक्त भवन निर्माणको लागि गत आर्थिक वर्षमा संघीय सरकारबाट रु २० लाख र प्रदेश सरकारबाट रू ५० लाख रुपैयाँ अनुदान स्वरुप प्राप्त भएको थियो । यसैगरी यस आर्थिक वर्षमा गाउँपालिकाले रु दुई करोड रुपैयाँ विनियोजन गरेको छ। थप रकमको लागि संघीय सरकार तथा प्रदेश सरकारद्वारा बचनबद्धता समेत प्राप्त भइसकेको सुवेदीले जानकारी दिए ।
प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण सँगै सेवा प्रवाह थप चुस्त तथा दुरुस्त हुने समेत आशा गरिएको बताए । गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले साविकको कृषि विकास कार्यालय द्वारा गाउँपालिकामा हस्तान्तरण भएको १४ रोपनी जग्गामा गुरुयोजना बनाई प्रशासकिय भवन निर्माणको सुरुवात भएको बताए । उनका अनुसार प्रारम्भमा प्रशासकिय भवन मात्र निर्माण हुने र थप बजेट को जोहो भएसँगै कर्मचारीहरूको लागि आवासीय भवनहरू लगायत आवश्यकतानुसार अन्य भवनहरुको समेत निर्माण हुनेछन् ।
आफ्नै कार्यकाल भित्र भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसै कार्यकालमा सुविधासम्पन्न भवन निर्माण भए सँगै आउने कार्यकालका जनप्रतिनिधिलाई विकास निर्माण कार्यमा मात्र केन्द्रीकृत भई काम गर्न सहज हुने गाउँपालिकामा प्रवक्ता एवं वडानम्बर ८ का वडा अध्यक्ष श्री प्रकाश थापाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति युवराज केसीले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नारायण थापाले नयाँ भवनको निर्माणसँगै सेवा प्रवाहमा प्रभावकारिता आउने अपेक्षा समेत गरेको बताए । सम्झौता अनुसार काम भएमा २०७८ असोज मसान्त भित्रमा निर्माण सम्पन्न हुने छ ।