नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त हुनुभएको छ । दलका नेता एवं मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा सदस्य शाहीलाई मंगलबार सचेतक नियुक्त गर्नुभएको हो ।
यसअघि दलका नेता शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई सोमबार बर्खास्त गरि सचेतक सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका गर्नुभएको थियो । मंगलबार सचेतक नियुक्त भएका शाही नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् । उहाँ २०७४ को प्रदेश सभा निर्वाचनमा कालीकोट–१ बाट निर्वाचित हुनुभएको थियो ।
माधव नेपाल समूहसँग भएको सहमति अनुसार मुख्यमन्त्री शाहीले सचेत नियुक्त गर्नुभएको हो । केन्द्रीय नेताहरूको पहलमा सहमति भएको हो । सहमति अनुसार दलमा सचेतकका अलावा नेपाल समूहले प्रदेश सरकारमा ३ मन्त्री पाउनेछ । यसअघि नेपाल समूहबाट प्रकाश ज्वाला मात्र मन्त्री थिए । सहमति अनुसार मुख्यमन्त्री शाहीले मंगलबार नै मन्त्रिमण्डल पुनर्गठनको तयारी गर्नुभएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समूहका प्रदेश सभा सदस्य यामलाल कँडेलको नेतृत्वमा आइतबार १८ जना सांसदले दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । मंगलबार संसदीय दलका बहुमत सदस्यले बैठक गर्ने तयारी गरेपनि नेपाल समूह ‘ब्याक’ भएपछि बैठक बस्न सकेन । यससँगै प्रदेश सभामा कँडेल समूह अल्पमतमा परेको छ।