
himdut.com
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताएका छन। आज आइतबारको दिन मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं देशलाई नै नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने शहर भएपनि कोरोना महामारीविरुद्धको लडाईंमा भने निकै पछि परेको बताएका छन ।
ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि धेरैजसो जिल्लाको प्रयास उदाहरणीय भएपनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताएका छन । यसैबीच उनले काठमाडौंका जनप्रतिनिधि, संघसंस्था तथा आम नागरिकलाई कोरोना नियन्त्रणका लागि बाँके, कपिलवस्तु, वीरगञ्ज जस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट पाठ सिक्नुपर्ने समेत बताएका छ्न । त्यस्तै उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण रोक्न नसकेमा अवस्था भयावह हुने र स्वास्थ्य संरचनाले केहि गरिनी धान्न नसक्ने समेत बताएका छ्न । उनले कोरोना संक्रमणलाई हल्का रुपमा नलिन समेत आग्रह गरे ।
नेपालमा कोरोना संक्रमणको महामारी रोक्न नागरिकको सचेतता आवश्यक रहेको बताउँदै मन्त्री ज्ञवालीले यो वर्षको दशैं लगायतका चाडपर्व उल्लासका साथ मनाउने अवस्था नरहेको पनि प्रष्ट पारेका थिए । यसको साथै आफ्ना अभिभावक तथा मान्यजनहरुलाई कोरोना संक्रमण हुनबाट बचाउन सबै सचेत रहन पनि उनले आग्रह गरेका छन। यसैबीच उनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गर्नुपर्ने तर्फ पनि सबैलाई सचेत गराएका थिए । हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहे पनि नागरिक सचेत नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने उनले बताएका छ्न । जनताको जीवन रक्षा गर्ने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै उनले बारम्बारको अपीललाई नागरिकले नसुनेमा कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि बताए ।