नयाँ संरचना अनुसार स्याङ्जा जिल्ला ११ वटा स्थानीय तहमा विभाजन भएको छ। विरुवा गाँउपालिका स्याङ्जा जिल्लाका पालिकाहरु मध्येको एक पालिका हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै हाल सबै स्थानीय तह हरु जन निर्वाचित प्रतिनिधि मार्फत सञ्चालन भइराखेका छन् । राजनैतिक रुपमा जनप्रतिनिधिहरु मार्फत संचालन हुने भए पनि स्थानीय तहहरूको प्रशासनिक तथा आर्थिक संचालन को मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतहरूको हुने गर्दछ। जनप्रतिनिधिहरु र कर्मचारीवीच आपसी तालमेल मिलेका स्थानीय तहले अपेक्षाकृत रुपमा नमुना कार्यहरु गर्न सफल भएको देखिन्छ। स्याङ्जा जिल्लाको उत्तरपूर्वमा रहेको बिरुवा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ युवा प्रशासक कुलराज सुवेदी । प्रस्तुत छ जिल्लावासी समेत रहेका सुवेदीसँग हाम्रा प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश
आराम हुनुहुन्छ रु आजकल के काममा व्यस्त हुनुहुन्छ ?
हजुर आराम नै छु । आजकल कार्यालयका नियमित काम कारवाही र अफ्नो जिम्मेवारीमै व्यस्तता रहेको छ ।
बिरुवा गाउँपालिका को गत आर्थिक वर्षको बजेट खर्च के कस्तो रह्यो ?
गाउँपालिकाको गत वर्षको बजेट खर्च सन्तोषजनक नै मान्नुपर्दछ । चालु तर्फ को खर्च लाई कम गर्दै कोरोना कहर का बीचमा पनि पुजिगत खर्च लाई अगाडि बढाउन गाउँपालिकाले विशेष पहल गरेको थियो। प्रतिफल स्वरुप गत आर्थिक वर्षमा गाउँपालिकाको पूंजीगत खर्च झन्डै ८०५ प्रतिशत रहेको छ।
मलेप प्रतिवेदनमा गाउँपालिकाको बेरुजुको अवस्था कस्तो रहेको छ ?
गाउँपालिकाको आर्थिक प्रशासनलाई विद्यमान ऐन तथा कानुन छ अगाडि बढाउने गरिएको छ । यति हुँदाहुँदै पनि कतिपय प्राविधिक कारण , उपभोक्ताहरुले कार्यसम्पन्न गरे पनि कागजपत्र तयार गर्न गर्ने क्षमताको कमी तथा अन्य विविध कारणले समेत बेरुजु देखिने गरेको छ । तर ती अधिकांश बेरुजु नियमित गर्नुपर्ने प्रकृतिको भएकोले त्यति खराब अवस्था भने छैन।
यस आर्थिक वर्षको कुल बजेट रकम कति रहेको छ ?
यस आर्थिक वर्षको लागि बिरुवा गाउँपालिकाले झण्डै ४४ करोड रुपैयाँ बराबरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ।
बजेटका प्राथमिकताका क्षेत्रहरु के के रहेका छन् ?
स्थानिय सरकार नागरिकको सबै भन्दा माथिल्लो सरकार हो नागरिकको घर दैलोमा सार्वजनिक सेवा प्रवाह गर्नेको लागि मुलुक संघियतामा गएको यो परिवेशमा विरुवा गाउँपालिका भित्रका नागरिकहरुलाई आवश्यक सार्वजनिक सेवा प्रदान गराउन नागरिकको अधिकारको संरक्षण गर्ने नागरिकहरुलाई सरकारमा उपस्थित महसुस गराउने किसिमबाट बजेटको व्यवस्था गरिएको छ । गाउँपालिका विकासका पुर्वाधार खडा नभएको यस्ता किसिमका समस्याहरुलाई समाधानका निमित्त स्रोत र साधनकोे कमी हुँदा हुँदै पनि नागरिकको अपेक्षा र गाँउपालिकाको प्राथमिकताका योजनाहरुलाई अगाडी वढाइएको छ । यस आर्थिक वर्षको बजेटमा बिरुवा गाउँपालिकाले पूर्वाधार विकास ,कृषि ,स्वास्थ्य र रोजगारी सृजनामा विशेष जोड दिएको छ। यसको साथसाथै शिक्षा, पर्यटन तथा खेलकुद क्षेत्रमा समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ।
कोरोना व्यवस्थापनको लागि के कस्ता प्रयासहरु भएका छन् ?
गाउँपालिकामा कोरोना व्यवस्थापनको लागि सुरुदेखि नै प्रभावकारी कार्यहरु भएका छन् । गाउँपालिकामा जनप्रतिनिधि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सम्मिलित कोरोना व्यवस्थापन समिति गठन भएको छ । यस समिति मार्फत क्वारेन्टाइन व्यवस्थापन, स्वाव संकलन, औषधि उपचार, यातायात लगायतका सम्पूर्ण कुराहरूको व्यवस्थापन हुने गरेको छ। देशमा आइपरेको यस्तो महामारी कोभिड १९ व्यवस्थापनमा विरुवा गाँउपालिकाका सबै पक्ष र जिम्मेवार राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु र यस पालिकाका स्थानीयहरु सबै पक्षवाट पालिकालाई राम्रो साथ र सहयोगवाट सम्भावित खतरालाई अहिले सम्म सामना गरिराखेका छौ ।
क्वारेन्टाइन हरुको संख्या र अवस्थाको बारेमा बताइदिनुस् न ?
महामारी फैलिए सँगै गाउँपालिका ले हरेक वडाहरुमा न्यूनतम १० बेड र गाउँपालिकामा थप १० सहित कुल ९० बेड क्षमताको क्वारेन्टाइन हरु स्थापना गरेको थियो । विदेशबाट आउने ब्यक्तिहरुको घटेसँगै र विद्यालयहरू सञ्चालन हुन सक्ने अवस्था आएसँगै क्वारेन्टाइन लाई ३० क्षमतामा झारिएको छ। अहिले पछिल्लो अवस्थामा यो क्षमता पालिकालाई पर्याप्त जस्तो देखिएको छ ।
चाडबाडको बेलामा देशभित्रै तथा बाहिरबाट धेरै व्यक्तिहरू गाउँपालिकामा आउनसक्छन यसकोलागि गाउँपालिकाले के तयारी गरेको छ र?
दशै तिहारजस्ता चाडबाडहरु नजिकिएसंगै गाउँपालिकाले थप तयारीहरु सुरु गरेको छ । यी चाडबाडलाई लक्षित गर्दै हामीले दुई दिन अगाडि थप २० बेड को क्वारेन्टाइन स्थापना गरेका छौं । यससँगै हामीसँग कुल ५० बेड क्षमताको क्वारेन्टाइन रहेको छ । यसको साथ साथै हामीसँग ५ बेड क्षमताको आइसिलेशन समेत रहेको छ ।
चालु आर्थिक वर्षको योजनाहरु सञ्चालनको अवस्था कस्तो रहेको छ ?
चालु आर्थिक वर्षका योजनाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन कार्यपालिकाको समेत बैठक बसी जनप्रतिनिधिहरुलाई जिम्मेवारी तोकी सकिएको छ ।हाल सबै वडाहरुमा उपभोक्ता समितिहरु गठन हुने काम सम्पन्नताको चरण मा छन् ।यससँगै प्राविधिक फाँटको कर्मचारीहरु फिल्डमा खटाई लगत इस्टमेट तयार गर्ने कार्य अगाडि बढेको छ ।
गाउँपालिकाको विशेष सम्भावनाका क्षेत्रहरू के के रहेका छन् ?
बिरुवा गाउँपालिका को बिशेष सम्भावनाको क्षेत्र कृषि, पर्यटन र शिक्षा हो । कृषि तर्फ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र कार्यान्वयनमा रहेको छ भने तरकारी खेती, फलफूल खेती ,माछापालन र दुग्ध व्यवसाय मा राम्रो सम्भावना देखिन्छ । प्रसिद्ध मनकामना मन्दिर , मिनाम गुफा , नागस्थान र देविस्थान , क्युथान भ्यू टावर लगायतका पर्यटकीय क्षेत्रहरु रहेका छन् । गाउँपालिकाकाले विभिन्न विद्यालयहरुमा प्राविधिक विषय सञ्चालनमा सहयोग गरी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकामा भौतिक पूर्वाधार र कर्मचारीहरूको अवस्था कस्तो रहेको छ ?
गाउँपालिकाको आफ्नै अस्थायी प्रशासकीय भवन रहेको छ। यसको साथसाथै गत आर्थिक वर्षमा ठेक्का सम्पन्न भई आधुनिक र सुविधायुक्त प्रशासकीय भवन निर्माणको कार्य अगाडि बढेको छ । कृषि ,पशु र महिला विकास शाखामा बाहेक अन्य शाखाहरुमा कर्मचारीहरूको खासै अभाव छैन ।
केही व्यक्तिगत विषयमा पनि कुरा गरौं । निजामती सेवामा आउनुभन्दा अगाडि तपाई कुन पेशामा आबद्ध हुनुहुन्थ्यो ?
धन्यवाद, निजामती सेवामा आउनुभन्दा अगाडि म प्राध्यापन सेवामा थिए। मास्टर्स डिग्रीको पढाइ पूरा गरेपछि मैले ४ वर्ष नेपाल आदर्श क्याम्पस वालिङमा र एक वर्ष सान्तना मेमोरियल एकेडेमी काठमाडौंमा प्राध्यापन गरे ।
तपाईं बौद्धिक प्रशासकको रुपमा पनि परिचित हुनु हुन्छ। तपाईंका चाखका क्षेत्रहरु के के रहेका छन् ?
प्रशासन बाहेक साहित्य अध्ययन , पत्रकारिता , लेखन र घुमफिर मेरा चाखका क्षेत्रहरू हुन । नेपाली साहित्य साथै अंग्रेजी र हिन्दी साहित्यहरु अध्ययन गर्न म अतिनै मन पराउँछु। क्याम्पस जीवनदेखि नै पत्रकारितामा मेरो चासोको क्षेत्र थियो। बुटवलमा क्याम्पस पढ्दै गर्दा विभिन्न पत्र(पत्रिकाहरुमा लेख रचनाहरु प्रकाशित गर्दथे। क्याम्पस जीवन मै केही साहित्यिक र शैक्षिक पत्रिकाहरूको सम्पादन तथा सहा सम्पादन गरेको अनुभव समेत सँगालेको छु ।
व्यक्तिगत जीवन र जागिरे जीवन बीच कसरी सन्तुलन मिलाउनु भएको छ ?
निजामती कर्मचारीको मुख्य समस्या नै आफ्नो पारिवारिक र जागीरे जीवन बीच सम्बन्ध नै मिलाउनु रहेको हुन्छ । जागिरको सिलसिलामा आफू देशका कुनाकाप्चामा पुगी रहनुपर्छ । यसले गर्दा परिवारलाई समय दिन पाइदैन ।बाल बच्चाहरूको पढाईलाई पनि उचित ध्यान दिनु पाइँदैन । यति हुँदाहुँदै पनि बिदाको समयमा घर गएर बुवा आमा र बालबच्चा हरु संग समय बिताउने गरेको छु ।
अन्त्यमा हाम्रो लोकप्रिय अनलाइन मार्फत बिरुवाबासी हरुलाई के अनुरोध गर्न चाहनुहुन्छ ?
तपाईंको लोकप्रिय अनलाइन मार्फत बिरुवा बासीहरुलाई समृद्ध गाउँपालिका निर्माण गर्ने गाउँपालिकाको अभियानमा उहाँहरूको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु । यसको साथसाथै आफ्नो गाउँ टोल विकास आयोजनाहरुमा निरन्तर निगरानी र गुणस्तर कायम गर्न आवश्यक सहयोगको लागि पनि अनुरोध गर्दछु।