तस्वीर : गोपिकृष्ण रेग्मी
स्याङजा, १४ भदौ । काठमाडौंबाट चापाकोट नगरपालिका तर्फ जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते छन्।
काठमाडौंमा बिरामी छोडेर चापाकोटका २८ वर्षीया गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स आइतबार बिहान वालिङ् नगरपालिका- ५ स्थित वालिङ चापाकोट सडकमा दुर्घटना भएको हो। मृत्यु हुनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
उनीहरु दुबैको वालिङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ।
काठमाडौंमा बस्दै आएकी भण्डारी सुत्केरी हुनका लागि आफ्नो घर चापाकोट फर्केको बताइएको छ। एम्बुलेन्समा सवार ४ जना चापाकोटका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको छ।
चापाकोट नगरपालिकाका प्रमुखद्वारा दुख व्यक्त
चापकोट नगरपालिकाको एम्वुलेन्स दुर्घटनाको खवरवाट नगर प्रमुख शिव गिरीद्वारा दुख व्यक्त गरेका छन् ।
घटना पश्चात गिरीले वालिङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगी घाइते तथा मृतकका आफन्तहरुलाई भेटेका छन् । नगर प्रमुख गिरीले मृतकहरु प्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको चापाकोट नगरपालिकाका प्रेस संयोजक विश्व भट्टराईले जानकारी दिए ।