स्याङ्जा, ९ साउन
२०५४ सालमा स्थापना गरिएको प्रहरी चौकी हालको रत्नपुर ईलाका प्रहरी कार्यालय स्थानान्तरणलाई लिएर स्याङ्जाको चापाकोटवासी आन्दोलित भएसंगै सुरक्षा चुनौति थपिएको छ । क्वामीमा रहेको प्रहरी कार्यालय सुन्तलीटार सार्ने भनिए पछि चरणवद्ध आन्दोलनमा होमिएका स्थानीयहरुका कारण चापाकोट यतिवेला अशान्त बन्दै गएको हो ।
हाल प्रहरी कार्यालय रहेको स्थान नगरबासिका लागि पायक पर्ने स्थानमा छ तर केहि व्यक्तिहरुको उस्काहठमा लागेर सोहि क्षेत्रबाट निर्वाचित संघीय संसद हाल भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालको हठले कार्यालयलाई सुन्तलीटारमा सार्न लागिएको स्थानीयको आरोप छ ।
सत्ता पक्षका केहि हठी व्यक्तिहरुको लहै लहैमा लागेर प्रहरी कार्यालय सार्न लागेको भन्दै चापाकोट नगरपालिकाका १० वडा मध्ये वडा नं. ३, ४, ५, ६, ७ र ८ का स्थानीयले सर्वदलिय, सर्वपक्षिय संघर्ष समिति बनाएर आन्दोलित छन् । प्रहरी कार्यालय सार्न थालेपछि आन्दोलित भएका स्थानीयले आन्दोलनलाई थप पेचिलो बनाइरहेका छन् ।
“भौगोलिकर सुरक्षाका दृष्टिले समेत पायक पर्ने स्थानमा रहेको क्वामीको प्रहरी कार्यालय सुन्तलीटार सार्न थालेपछि हामी आन्दोलनमा उत्रन बाध्य भएका छौं ।” स्थानीय गोकर्ण भट्टराईले भने, “क्वामीबाट करिब ३ किलोमिटरको दुरीमा पर्ने सुन्तलीटारमा प्रहरी कार्यालय लगेर कस्तो राजनीतिगर्न खोजिएको हो ? ।”
क्वामीमा प्रहरी कार्यालयका लागि भौतिक संरचना रहदा रहदै सुन्तलीटारमा भौतिक संरचना बनाउदा समेत राज्यलाई करोडौ घाटा छ । स्थानीयका अनुसार पायक पर्ने स्थानमा रहेको प्रहरी कार्यालय सार्ने नाममा राज्यलाई किन घाटा पुन्याउनु पन्यो ? स्थानीय प्रहरी कार्यालय साविककै स्थानमा राख्न जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने जिकिर गरेका छन् ।
शुरुशुरुमा रिले अनशनबाट आन्दोलन थालेका स्थानीयले पछिल्लो सयम नगरपालिकाको कार्यालयनै पायक पर्ने स्थानमा सार्न माग गर्दै राँके जुलुश लगाएका प्रदर्शन गर्दै आएका छन् । हाल नगरपालिकाको कार्यालय सुन्तलीटारमा छ । पालिका कार्यालय वडा नं. १, ९ र १० पायक र अन्यलाई पायकपर्ने स्थानमा नभएको स्थानीयको भनाई छ ।
“प्रहरी कार्यालय सार्ने राजनीति शुरु गरेको पक्ष पछाडी नहटेसम्म हामी आन्दोलनबाट पछाडी हट्दैनौं ।” स्थानीय राजन डोटेलले भने, “प्रहरी कार्यालय सार्नेलाई काउण्टर दिन पालिका कार्यालयका सार्ने माग अगाडी बढाएका हौं ।” प्रहरी कार्यालय सार्न खोज्ने पछाडी हटे हामी पालिका सार्ने आन्दोलनबाट पछाडी हट्न सकिने उनले बताए ।
प्रहरी कार्यालय स्थानान्तरण गर्न नदिने पक्षले राँके जुलुशसम्मको आन्दोलन गरेपछि नगरपालिका रहेको क्षेत्रका स्थानीयले नगरपालिका मा अशान्ति भएको बन्दै मौन जुलुश प्रदर्शन गरेका छन् । दुबै पक्ष भिन्न भिन्न विषयमा आन्दोलन गर्दै जाने हो भने नगरपालिका दुई भागमा विभाजन भएर मुठभेडमा जान सक्ने स्थानीयले आशंका गरेका छन् । जुन खालको पछिल्लो गतिविधिका कारण चापाकोटको सुरक्षा चुनौति थपिएको नागरिकले महशुस गर्न थालेका छन् ।
नगरपालिका कार्यालय पनि हाल भएको स्थानमा राख्ने र ईलाका प्रहरी कार्याललाई नि साविककै स्थानमा राख्ने पहल नगर प्रमुख शिवकुमार गिरीले पहल गरेका छन्, तर उनको पहललले सार्थकता पाएको छैन् । स्थानीयका अनुसार सोहि क्षेत्रबाट संघीय संसद तथा मन्त्री पद्मा अर्यालको हठले चापाकोट अशान्त बन्दै गएको आरोप लगाएका छन् ।