पोखरा, २६ असार ।
गण्डकी प्रदेशमा गएराती देखिको लगातारको वर्षाका कारण पहिरोमा परि पोखरा, म्याग्दी र लम्जुङमा गरी सात जनाको मृत्यू भएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार कास्कीको पोखराका विभिन्न स्थानमा चार जना, लम्जुङको बेसीशहरमा तिन जनाको पहिरोमा परि मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका रिखामा पहिरोकै कारण सात जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
पोखरामा पहिरोमा परी चार जनाको मृत्यु, नौ घाइते
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
राति २ः४५ बजेको समयमा पोखरा महानगरपालिका(१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका(२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा तीन वटा बाख्रा पनि पुरिएका छन् ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ।
म्याग्दीमा पहिरोले घर बगाउँदा सात जना बेपत्ता, १३ परिवार विस्थापित
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासी समेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए ।
घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ’, वडासदस्य पुनले भने, ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।’
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् ।
भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिज समेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सीमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।
गलेश्वरका स्थानीय दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए ।
अविरल वर्षासँगै आएको पहिरोमा परी लमजुङमा ३ को मृत्यु
अविरल वर्षासँगै आएको पहिरोमा परी लमजुङमा ३ जनाको मृत्यु भएको छ । गएराति १२ बजे आएको पहिरोमा परेर ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु बेसीसहर नगरपालिका ७ सातबीसेका हुन् । पहिरोमा पुरिएका उनीहरुलाई प्रहरीले उद्धार गरेर जिल्ल अस्पताल बेसरसहर लगेपेनि उनीहरुको उपचार सम्भव भएको थिएन ।
पहिरोमा परी अँय ३ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको छ । सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेका छन् ।