वालिङ, २४ असार ।
मौसम पुर्वानुमान महाशाखाले विहिवारवाट आईतवार सम्म यस वर्षकै धेरै पानी पर्न सक्ने र वाढी र पहिरोको जोखिममा रहेकालाई सुरक्षित हुन सचेत गरेसंगै वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
नगरपालिकाको विपद ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एव्म विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणले जानकारी दिए ।
दलित समुदायको बस्ती रहेको उक्त गाउँका सात घर परिवारलाई नजिकैको अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारिएको नगर प्रमुख खाँणले जानकारी दिए । तत्काल मानवीय क्षति नहोस् भन्नका लागि नजिकैको विद्यालयमा सारेको वताउदै उनले भने, यो तत्कालको लागि अस्थायी बासस्थानको रुपमा राखिएको हो ।
वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने संभावित गाउँलाई पूर्व सावधानीस्वरुप विद्यालयमा स्थानान्तरण गरिएको र वर्षायाम हटेसँगै उहाँहरुलाई दीर्घकालीन रुपमा बसोबासको ब्यवस्थापन मिलाउनका लागि जग्गाको खोजी कार्य भईरहेको समेत नगर प्रमुख खाँणले जानकारी दिए ।
वालिङ नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले नगरभित्रका बाढी पहिरो तथा भूक्षय जान सक्ने संभावित बस्तीहरुको पहिचान गरी उच्च सतर्कता अपाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
वालिङ नगरपालिकाको वडा नं. १३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भईरहेको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् । तत्काल कुसुण्डेका ३२ परिवारलाई सुरक्षित स्थानमा राख्ने र नगरपालिकाले जग्गा व्यवस्थापन गरेपछि पहिरोवाट क्षति पुगेका र उच्च जोखिममा परेका सबैलाई सुरक्षित विकल्प खोजिने पनि उपप्रमुख तिवारीले जानकारी दिइन् ।
भिरालो जमीनमा कच्ची घरहरु रहेको र वर्षायामको सुरुवातसँगै जमीनमा चिरा पर्ने तथा जमीन भास्सिने समस्याका कारण निकै त्रसित अवस्थामा बस्नुपर्ने बाध्यतालाई नगरपालिकाले सहजीकरण गरेर विद्यालयमा बस्ने ब्यवस्था गरेपछि आफूहरु सुरक्षित महशुस गरेको पहिरो प्रभावित प्रकाश परियारले बताए । “पानी परेको बेला हाम्रो बस्तीमा रहेका कोही पनि राम्रोसँग निदाउन सक्ने अवस्था छैन” उनले भने, “सात घर परिवारका ३० जनाले विद्यालयमा आश्रय लिएका छौं ।”
पहिरोको जोखिममा रहेका परिवारहरुलाई नगरपालिकाले आज वुधवार स्थानान्तरण गरेको हो । वर्षादको वेला हुनसक्ने सम्भावित दुर्घटनावाट बच्न र बचाउनका लागि तत्कालै निर्णय गरी सुरक्षित गराएको वालिङ ८ का वडा अध्यक्ष कमल सुवेदीले जानकारी दिए ।
विहिवारवाट आइतवार सम्म अत्याधिक वर्षा हुनसक्ने भएकाले नदी किनारमा बसोवास गर्ने र पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित र सचेत हुन समेत नगरपालिकाले आग्रह गरेको छ । सम्भावित खतरालाई मध्येनजर गर्दै नगरपालिकाले तत्काल राहत र उद्दारका लागि विपत व्यवस्थापन समितीलाई क्रियाशिल गराउदै आवश्यक तयारी सुरु गरेको समेत जनाएको छ ।