तोलाकान्त बगाले
वालिङ, १० असार ।
वालिङ नगरपालिकाको आठौं नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ बजेट सार्वजनिक गरेको छ । वालिङ नगरपालिकाका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले आठौं नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नगरपालिकाको आन्तरिक आय (विभिन्न शीर्षक) तर्फ ५ करोड ३३ लाख, स्रोत उपयोगबाट प्राप्त बाँडफाँड (राजश्व बाँडफाँड) संघीय सरकारबाट १० करोड २२ लाख ६७ हजार ८ सय २२, बित्तीय समानीकरण अनुदान १५ करोड ४७ लाख, सशर्त अनुदान ३८ करोड ६९ लाख, संघीय सरकार समपूरक अनुदान २ करोड, संघीय सरकार विशेष अनुदान १ करोड, सडक बोर्ड नेपालबाट ४७ लाख र गतवर्षको मौज्दात अ.ल्या ४ करोड ६० लाख गरी ७७ करोड ७८ लाख ६७ हजार ८ सय २२ रुपैयाँ र प्रदेश सरकार राजश्व बाँडफाँडबाट ८७ लाख १९ हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट १ करोड २६ लाख ६८ हजार, प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड गरी कूल ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ अनुमानित बजेट उपप्रमुख कल्पना तिवारीले बिनियोजित बजेट नगरसभामा प्रस्तुत गरेकी छन् ।
क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु. ८० करोड ९२ लाख ५४ हजार ८ सय २२ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतको चालुतर्फ ३८ करोड ९६ लाख ८४ हजार ८ सय २२ रुपैयाँ र पूँजिगततर्फ ४१ करोड ९५ लाख ७० हजार खर्चको अनुमानित बजेट आठौं नगरसभामा उपप्रमुख तिवारीले सार्वजनिक गरिन् । कूल बजेटमा चालुतर्फ ४८.१५ प्रतिशत र पूँजिगततर्फ ५१.८५ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरुमा कोरोना भाईरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी ब्यवस्थापन गर्ने सबैको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीब्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने रहेको छ ।
यसअघि नगरसभामा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दफावार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताकासाथ प्रस्तुत गरिएको छ ।
नगरप्रमुख खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताएका छन् ।
बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगरप्रमुख खाँणले बताए ।