राधाकृष्ण डुम्रे
स्याङ्जा, ३२ जेठ ।
स्याङ्जामा थप ४ जना कोरोना संक्रमितहरु सरकारको मापदण्ड अनुसार आज घर फर्किएका छन् । संक्रमण पुष्टी भएपश्चात जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ३ जना पुरुष र कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा रहेका १ महिला लाई आज घर पठाईएको हो ।
वालिङ नगरपालिकाका २०, २६ र २९ बर्षका ३ जना पुरुष र ३९ बर्षकी महिला सरकारको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई स्वास्थ्य आपतकालिन कार्य सन्चालन केन्द्रको गत २० गतेको निर्देशन अनुसार लक्षण देखिन छोडेको ३ दिन र संक्रमण पछि १४ दिन आइसोलेशनमा बसेका लक्षण नभएका विरामीलाई विना टेष्ट डिस्चार्ज गर्न गराउन दिएको निर्देशन बमोजिम उनीहरुलाई आज डिस्चार्ज गरिएको जिल्ला अस्पताल स्याङ्जाकी डा अन्जु अर्यालले जानकारी दिइन् ।
अस्पतालबाट सिधै वालिङ नगरपालिकाको कार्यालयमा आएका उनीहरुलाई नगर प्रमुख दिलिप प्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डे लगायतले फुलका गुच्छा दिएर विदाई गरिएको थियो ।
घर जान लागेका चारै जनालाई नगरपालिकाले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री समेत प्रदान गरेको छ । नगर प्रमुख खाँणले उनीहरुलाई घरमा सुरक्षित तरिकाले बस्न आग्रह गर्दै केही स्वास्थ्य र दिन चर्या सम्वन्धी गर्नुपर्ने क्रियाकलापका बारेमा समेत जानकारी दिएका थिए ।
संक्रमण पछि सरकारको मापदण्ड अनुसार घरमा फिर्ता गरिएको भएपनि केही समय सुरक्षित रहन र सामाजिक दुरी, सरसफाईका वारेमा भने सचेत रहन आग्रह गरिएको थियो ।
यस अघि जिल्ला अस्पतालको आईसोलेसनवाट वालिङ १ र गल्याङका २ जना पुरुष कोरोना मुक्त भएर घर फर्कि सकेका थिए । अव कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा ५० जना रहेका छन् भने २ जना पोखरामा रहेका छन् । एक जनाको निधन भईसकेको छ । जिल्लामा हालसम्म संक्रमितको संख्या ६० रहेको छ ।