चापाकोट, २७ जेठ ।
स्याङ्जाको चापाकोट नगरपालिका वाड नं ८ क्वामीमा रहेको इलाका प्रहरी कार्यालय “क”रत्नपुर लाई जिल्ला सुरक्षा समितीले वाड नं ९ सुन्तलीटारमा सार्न खोजेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । चापाकोट ८ का अध्यक्ष नवराज श्रेष्ठ सहितको टोलीले प्रहरी कार्यालयलाई सार्न नदिनका लागि दवाव स्वरुप रिले अनशन सुरु गरिएको हो ।
२०५५ सालमा स्थापना गरिएको इलाका प्रहरी कार्यालयलाई २०७६ असौज ७ गतेको मन्त्री परिषदको निर्णयवाट स्तरउन्नती गरी क श्रेणीको इलाका प्रहरी कार्यालय भएपश्चात आवश्यक दरवन्दी र भौतिक पूर्वाधारका लागि समेत व्यवस्था गरिएको थियो ।
पूर्वाधार निर्माण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले टेण्डर आव्हान गरी ठेक्का सदर गरी निर्माणको कार्य अगाडी वढाउन लाग्दा रत्नपुरका स्थानीयले थाहा पाएपछि प्रहरी कार्यालय सार्न खोजेको भन्दै गत यही जेठ २१ गतेवाट रिले अनशनमा बसेको मंगलवार चापाकोट नगरपालिका वाड नं ८ मा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
इलाका प्रहरी कार्यालयको थप संरचना क्वामीमै निर्माण हुनुपर्ने माग राखि चरणवद्ध आन्दोलनमा उत्रिएको चापाकोट नगरपालिका वाड नं ८ का वडा अध्यक्ष नवराज श्रेष्ठले वताए । चापाकोट नगरपालिकाले समेत पौष १४ गते नेपाल सरकार गृह मन्त्रालयलाई भवन निर्माण यथास्थानमानै गर्न सिफारिस गरिसक्दा पनि वेवास्ता गरेको आरोप वडा अध्यक्षको छ ।
भोगोलिक हिसावले पनि चापाकोटको शान्ति सुरक्षाका लागि पायक पर्ने स्थानमा रहेको उक्त प्रहरी कार्यालय सार्न खोजिनु चापाकोटकै नागरिकलाई विभाजन गर्न खोजिनु हो भन्दै वडा अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा भने, “प्रहरी कार्यालय सार्न खोजिए जस्तो सुकै मूल्य चुकाउन वाध्य हुने छौ ।”
पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय चापाकोट क थयास्थानमा कायम राख्न गठित वार्ता टोलीका सदस्य गौरव भट्टराईले २०५४ सालमा इलाका प्रहरी कार्यालय रत्नपुरको स्थापनाका लागि स्थानीय वद्री प्रसाद भट्टराईको को योगदान र १० रोपनी जग्गा निशुल्क स्थानिय सिता कुमारी पौड्याल र स्वर्गीय चन्द्र कुमारी पौड्यालले गरेको योगदान निहित स्वार्थका कारण सुन्तलीटारमा सार्न खोजिनु दुर्भाग्य हुने वताएका थिए ।
५ मिनेटको दुरीमा सार्न आवश्यक छैन, भट्टराईले भने, “चापाकोटको विकास र समृद्धिमा लाग्ने हो भने सडक पूर्वाधार समेत विकास गरी दामाचौर र सुन्तलीटार सम्मको दुरी सहज वनाउन लागौं ।” सबै वडालाई पायक पर्ने स्थानवाट कसैको राजनीतिक र प्रशासनीक स्वार्थमा प्रहरी कार्यालय सार्न खोजिए यहाँका स्थानीयले रगतको खोलो वगाउन समेत तयार रहेको चेतावनी दिए ।
एक हप्ता सम्म आन्दोलित हुँदा सम्म राज्यको ध्यानाकर्षण नहुनु र अनशनको वेवास्ता गरिनु चापाकोटलाई विभाजित गर्न खोजिएको षडयन्त्र भएको भन्दै भट्टराईले कोरोना भाईरसको संक्रमणवाट जोगिन लकडाउनका वेला अनशन सहित विरोधका कार्यक्रममा सयौं मानिस दिनरात नभनी आन्दोलनमा होमिएको यो अवस्थामा प्रशासनले वल प्रयोग गरेर कार्यालय सार्ने चेष्टा गरिएमा स्थानीयले समेत प्रतिकारमा उत्रने चेतावनी दिए ।
स्थानीयले भुमी दान गरि निर्माण गरिएको र चापाकोट नगरपालिकाको पायक पर्ने स्थानमा रहेको इलाका प्रहरी कार्यालय सार्न खोजिनु दुखद भएको उक्त बिरोध कार्यक्रमका संयोजक हरि भट्टराईले पत्रकार सम्मेलनमा वताए । हाल शान्ति पूर्ण तरिकाले विरोध गरिरहेका छौ अहिले सम्म राज्यका निकायको ध्यान नपुग्नु दुखद भएकाले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरी अगाडी वढने समेत संयोजक भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कार्यक्रमको सन्चालन संघर्ष समितीका सह संयोजक गोकर्ण भट्टराईले चापाकोट नगरपालिकालाई विखण्डन गर्न खोज्ने शक्तिका विरुद्ध जस्तो सुकै मुल्य चुकाउन यहाँका स्थानीय तयार रहेको हुँदा राज्यका तिनै तहका सरकारले हाम्रो एक सुत्रिय माग सम्वोधन गरी चापाकोटको विकासका निम्ति नागरिकको भावना एकजुट गराएर समृद्ध चापाकोट निर्माण अभियानमा जुटनका लागि सबै पक्षसंग आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले आफ्नो जिज्ञासा राखेका थिए । भवन टेण्डर प्रकृया सकेर निर्माण सुरु गर्न लागेको चापाकोट सुन्तलीटार हाल इलाका प्रहरी कार्यालय क रहेको स्थानवाट ३ किलोमिटरको दुरीमा रहेको छ ।
सुन्तलीटार चापाकोट नगरपालिकाको केन्द्र हो । उक्त स्थानमा प्रहरी चौकी रहेको छ । भौगोलिक हिसावले चापाकोटको सबै वडाहरुलाई पायक पर्ने स्थान पनि हाल रहेको प्रहरी कार्यालयनै भएकोले सडकको स्तरउन्नती गर्ने हो भने दामाचौर सुन्तलीटार ५ मिनेटमा पुग्न सकिने भएकाले यथास्थानमा पूर्वाधार निर्माण गरी हाल आएको विवाद समाधान गर्नुपर्नै स्थानीयहरुले वताएका छन् ।