भीरकोट, २२ चैत्र ।
मुलुकभर लकडाउन भएको दुई हप्ता वित्न लाग्यो, अत्यावश्यक सेवाबाहेक सडकमा मान्छेको हिँडडुल नगन्य छ। यस्तो बेला धेरै मान्छेले आपतकालीन अवस्था पनि झेल्नु परेको छ। निजी साधन चलाउन रोक र एम्बुलेन्स पनि सहज उपलब्ध नहुने भएपछि धेरै बिरामीलाई अस्पताल पुग्न समस्या भएको छ। भने अर्को तिर दैनिक ज्याला मजदुरीको भरमा जीवन निर्वाह गर्ने परिवारमा खाद्यान्न समस्या हुन थालेको छ ।
स्याङजा भीरकोट नगरपालिकाले भने यो अवस्थामा विपतमा परेका आफ्ना नागरिकलाई आकस्मिक सुविधा प्रदान गर्ने जनाएको छ । नगरपालिकाले विज्ञप्ती प्रकाशित गरी आफ्ना नागरिकलाई स्वास्थ्य तथा अन्य समस्या आई परे नगरपालिकालेनै यातायात उपलव्ध गराई सम्वन्धीत ठाँउ सम्म लैजाने भएको छ ।
अतिआवश्यक स्वास्थ्य सेवाहरु लिन, डायलोशिस गर्न, गर्भवती तथा बिभिन्न खाले दुर्घटना आई परेमा त्यस्को जिम्मा नगरपालिकाले लिने नगरप्रमुख छाँयाराम खनालले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
साथै नगरपालिकाले अतिविपन्न तथा मजदुर जसको घरम चुल्हो बोलेको छैन त्यसलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने जनाएको छ । कोही विपतमा परेको भए नगरपालिका भित्रका सम्वन्धित वडाका वडा अध्यक्ष तथा नगर प्रमुख, उपप्रमुखलाई सम्पर्क गर्न भनेका छन् ।
नगरपालिकाले निकालेको बिज्ञप्तीमा भनिएको छ “सम्पुर्ण मानव समुदायलाई असर परेको कोभिड १९ को प्रकोपको समयमा सरकारले गरेको लकडाउनका कारण यहाँहरु जो कसैलाई स्वास्थ जाच गर्न, नियमित डायलोशिस गर्ने, गर्भवती तथा सुत्केरी महिला र अन्य दुर्घटना मा परि यातायातको साधन उपलब्ध नभएका कारणले उपचारमा जान कठिनाई पर्न सक्ने संभावनलाई आत्मासात गरि त्यस्तो विषम परिस्थितिमा यस नगरपालिकाका वडा कार्यालय वा सिधै नगरपालिकामा पनि सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ ।
साथै यस विषम परिस्थितिका कारण भोकमरीको समस्या उतपन्न हुन सक्ने हुदाँ दैनिक ज्यालादारी गरि गुजारा गर्ने र अन्य विशेष परिस्थितिका कारण खाद्य संकट उतपन्न भई चुलो जल्न नसकेका घर परिवारहरुलाई आआफ्नो वडामा तथा सिधै नगरपालिकामा सम्पर्क गर्न समेत अनुरोध गरिन्छ । यस विज्ञप्ती अनुसारको सेवा प्राप्त गर्न नागरिकहरुलाई सामाजिक संघ सस्था राजनैतिक दल साथै समाजका सबै प्रबुद्ध वर्गले सुचना सन्देश प्रवाह गरि सेवामा संलग्न गर्न गराउन सहयोग प्रदान गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।” विज्ञप्तीमा भनिएको छ ।