गल्याङ, २ चैत्र ।
चीनबाट शुरु भएको प्राणघातक सरुवा रोग कोरोना भाइरसले विश्वलाई प्रभावित बनाइरहेको वेला स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीमा कोरोना रोगबाट साबधानी अपनाउनका लागि हेल्थ डेस्क स्थापना गरिएको छ ।
भारत सहित पाँच नम्बर प्रदेशबाट भित्रिने यात्रुहरुको स्वास्थ्य परिक्षण गर्नका हेल्थ डेस्क स्थापना गरिएको हो । आइतबार हेल्थ डेस्कको उद्घाटनमा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट साबधानी अपनाउने क्रममा डेस्क स्थापना गरिएको जानकारी दिए । उनले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको भन्दै धेरै नआत्तिन र सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
कोरोनाको संक्रमण अन्त्य नभएसम्म हेल्थ डेस्क यथावत रहने जानकारी दिदै अधिकारीले त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गर्ने समेत जानकारी दिए । नगरपालिकामा आयोजना हुने ठूला सभा सम्मेलन, भेला जस्ता धेरै जम्मा हुने कार्यक्रमहरु नगरपालिकाबाट रोकिएको बताउदै विवाह भोज जस्ता अन्य कार्यक्रमहरुमा पनि धेरै व्यक्तिहरु जम्मा हुने खालका कार्यक्रमहरु नगर्न नगरबासीहरुलाई आग्रह गरेको वताएका छन् ।
गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले हेल्थ डेस्कमा चेकअप पछि शंकास्पद देखिएमा पोखरामा रहेको आइसोलेसनमा पठाउने जानकारी दिए । उनले हेल्थ डेस्कमा खास गरी शंकास्पद व्यक्तिहरु र विदेशबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने बताए ।
डेस्कमा नगरपालिकाबाट दुई जना स्वास्थ्य कर्मीसँगै कम्तिमा एक जना सुरक्षाकर्मी नियमित रुपमा रहने भण्डारीले जानकारी दिए ।
यसैवीच, कोरोना संक्रमणबाट साबधानी अपनाउन गल्याङ नगरपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगरप्रमुखको संयोजकत्वमा समन्वय समिति गठन पनि गरेको छ ।
साबधानी अपनाउनका लागि आवश्यक काम गर्न समिति गठन गरिएको हो । समितिले कसैमा कोरोना भाइरसको संक्रमण शंका लागेमा अस्पतालसम्म लैजाने देखि आवश्यक सबै खालको सहयोग गर्ने पनि निर्णय भएको छ । यसैगरी, ११ वटै वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउने खालका कार्यक्रमहरु सञ्चालन गर्नका लागि समितिहरु गठन गरिने भएको छ ।