भीरकोट नगरपालिका- १ बयरघारी बजारमा यही फागुन १ गतेदेखि ११ गतेसम्म दास्रो भीरकोट कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव–२०७६ संचालन हुँदैछ । भीरकोट नगर उद्योग वाणिज्य संघ बयरघारीले दास्रो पटक महोत्सव आयोजना गरेको हो ।
आंधिखोलाको काखैमा रहेको यो ठांउ पर्यटकिय क्षेत्रका रुपले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा महोत्सव संचालन गरेर यहाँको पर्यटकिय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृतीको संरक्षण, विकास तथा प्रवद्र्धन एव सुचना प्रविधीको पहुच बृद्धि गर्ने महोत्सवको उदेश्य रहेको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन भीरकोट नगर उद्योग वाणिज्य संघले व्यापक तयारी गरिरहेको छ । मूल आयोजक समितिले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसै सन्दर्भमा भीरकोट नगर उद्योग वाणिज्य संघ बयरघारीका बरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका टिकट व्यावस्थापन तथा गेट पास संयोजक जगदिश कोईरालासँग पत्रकार अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः
– कोईराला जि आराम हुनुहुन्छ ? यो महोत्सव आयोजना गर्नुको मुख्य उदेश्य के हो ?
धन्यवाद, नमस्कार । आरामै छु । महोत्सव आयोजना गर्नुको उदेश्य यस क्षेत्रलाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने, यहाँको मौलिकता, संस्कृती, उद्योग, व्यापार र पर्यटन प्रर्वद्धन गर्ने नै हो । महोत्सव आयोजना गर्नुको अर्काे उद्येश्य संघलाई आर्थिक रुपमा सवलीकरणको प्रयास पनि हो ।
– गत वर्ष पनि एउटा क्लबले लोक संस्कृती तथा पर्यटन प्रर्वद्धन भन्दै रमाईलो मेला संचालन गरेको थियो । यसपाली तपाईहरुले आयोजना गर्दै हुनुहुन्छ , यो महोत्सव सफल हुने आधारहरु के हुन् ?
यस अघिको महोत्सव र रमाईलो मेलाको विषयले त्यती महत्व राख्दैन । कुनै एउटा क्लबले आयोजना गर्नु र सिंगो व्यापारीको संस्थाले आयोजना गर्नुमा निश्चय नै फरक पर्छ । यो महोत्सवमा सम्पूर्ण व्यवसायी, कृषक तथा विभिन्न पेशाकर्मीहरुसँग हामीले समन्वय गरेका छौ । विशेषगरी भीरकोट नगरपालिका नै मुख्य सहयोगी छ । विभिन्न व्यापारिक प्रतिष्ठानको सहयोग छ । साथै राष्ट्रिय स्तरका कलाकार महोत्सवमा आउनु र समाजका सबै तहतप्कामा हामीले समन्वय गरेकाले यो महोत्सव सफल रहनेमा हामी विश्वस्त छौ । हामी रचनात्मक काम गर्छाै, त्यही आधारमा हाम्रो महोत्सव सफल हुन्छ ।
– महोत्सवमा के कस्ता व्यापारीक स्टल रहन्छन् ?
महोत्सवमा दुई सय स्टलहरु रहनेछन् । महोत्सवमा विशेषगरी रमाइलो मेला, मौतका कुवा, सर्कस रहने छ । यसैगरी महोत्सवमा पहिलो पटक बालमैत्री सम्वन्धि कार्यक्रम र बालबालिकाद्धारा निर्मित वैज्ञानिक आविष्कारका सामाग्रीहरु समेत अवलोकनका लागि राखिने छ । यो दर्शकहरुको आर्कषणको केन्द्र संगै उपयोगी र सन्देशमूलक रहने छ । यसका साथै सुचना प्रविधिको छुट्टै स्टल रहने व्यवस्था मिलाएका छौ । व्यापारिक साथीहरुको पनि स्टल रहने छ । अटोमोवाइल्सको स्टल बुक भएको छ । मेलामा खाजा खानाका स्टल पनि रहने छन् ।
– केही दिन अघि मात्र नजिकैको वालिङ क्षेत्रमा रमाईलो मेला लाग्यो । भर्खरै सदरमुकाममा स्याङजा महोत्सव सकिएको छ । लगत्तै तपाईहरुले यहाँ महोत्सव आयोजना गर्दै हुनुहुन्छ । यस अघिका मेला महोत्सवले यो महोत्सवलाई केही प्रभाव पार्दैन र ?
सही कुरा उठाउनु भयो । सम्पन्न भएका मेला महोत्सवले यो महोत्सवलाई खासै नराम्रो प्रभाव पर्दैन । रमाईलो मेलाको महत्व र स्थान बेग्लै छ । भर्खरै सम्पन्न सदरमुकामको स्याङजा महोत्सव भन्दा हाम्रो महोत्सवको प्रकृती फरक छ । साथै भुगोल पनि केही भिन्न छ । दुरीले नजिक भएपनि आवागमनले हामीलाई प्रभाव पार्ने स्थानमा स्याङजा महोत्सव भएको थिएन । त्यसैले हाम्रो यो दास्रो भीरकोट नगर उद्योग,व्यापार,कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव उल्लेख्य रुपमा सफल हुनेछ । अन्यत्रका मेला, महोत्सवले हामिलाई त्यती असर पार्दैन् ।
– दास्रो पटक महोत्सव आयोजना गर्दै हुनुहुन्छ । के कस्ता समस्या र चुनौती आइपरेका छन् ?
हरेक नयाँ कामको थालनी गर्दा समस्या, चुनौती र अवसर त आउछन नै । त्यसमा पनि यो झन सबैको चासो र महत्वको विषय भएकाले सबैलाई मिलाउन केही गाह्रो त भयो नै । साथै आयोजक भीरकोट उद्योग वाणिज्य संघसँग आर्थिक नभएकाले अली गाह्रो त भएकै हो । तर पनि हामीले यसलाई व्यवस्थापन गरेका छौ । त्यती चुनौती खासै छैन् ।
– महोत्सवमा कतीको कारोबार गर्ने लक्ष्य राख्नु भएको छ ?
ग्रामिण भेग भएकाले शहर बजारको जस्तो महोत्सवमा कारोबार त नहोला । तर पनि करिव ७ करोडको आसपासमा कारोबार हुनेमा हामी ढुक्क छौ ।
– महोत्सवबाट संकलन भएको बचत रकम कुन क्षेत्रमा खर्चिने सोच बनाउनु भएको छ ?
यो सबैको चासोको विषय हो की महोत्सवबाट भएको आम्दानी आयोजकले के मा खर्चन्छ भन्ने । हामीले विशेष गरी महोत्सवबाट भएको आम्दानी सडक सौर्यबत्तीमा र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने उदेश्य लिएका छौ । यसका साथै हामिले जग्गा खरिद गरी संघको आफ्नै सचिवालय निर्माण गर्ने योजनामा पनि छौं ।
-महोत्वसको मुख्य आर्कषण के के बन्न सक्लान् ?
– हामीले दोस्रो भीरकोट महोत्सव भन्दा पनि पहिलो महोत्सववाटै जिल्लाका स्थानिय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेका थियौं । त्यसै अनुरुप हामीले अहिले दोस्रो संस्करणमा पनि हाम्रो कृषि प्रर्दशनी साता तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्रि वितरण राष्ट्रिय तथा स्थानीय प्रर्वद्धन सम्वन्धि विविध कार्यक्रमहरु, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शन तथा विक्रि हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण, जडिवुटिको प्रदर्शनी विक्रि तथा हाम्रो जिल्लामा भएका आदिवासीहरुको भेषभुषा, सँस्कृति तथा रहनसहनको प्रदर्शनी रहेको छ । त्यस्तै गरी अटो मोवाइल्सको प्रदर्शनी तथा विक्रि वितरण र रमाइलो मेला बालउद्यान लगायत विभिन्न खालका सास्कृतिक कार्यक्रमहरु, राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति, नौमती बाजा प्रतियोगिता लाई आकर्षण बताउँदै जिल्लामा आर्धिक गतिविधिहरु संचालन गर्ने र हामी व्यापार व्यवसाय अलि फराकिलो ढङ्गले गर्नुपर्छ । परम्परागत व्यवसायबाट अलिमाथि उठ्नु पर्छ भन्ने नै महोत्सवको एजेन्डा रहेको छ ।
-महोत्सवबाट के अपेक्षा लिन सकिन्छ ?
यो वर्षको मेलाको अपेक्षाका हिसावले २ वटा पाटो हुन्छन् । एउटा पाटो आर्थिक समृद्धिको लागि गरिन्छ र अर्को जिल्लामा हामीले व्यवसाय गरि राखेका छौँ । परम्परागत व्यवसायबाट अलि माथि उठेर आथिक रुपमा अलि सक्षम सवल बनेर स्थानिय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने र जिल्लामा आन्तरिक र वाह्य पर्यटकको आगमन हुने र आर्थिक क्षेत्रमा व्यपार व्यवसाय वढाउने व्यवसायीहरुको स्तर माथि उठाउने मुख्य हाम्रो आकर्षण रहन्छ ।
-महोत्सवमा को को कलाकारलाई उतार्दै हुनुहुन्छ ?
कलाकारको प्रस्तुतीले नै महोत्सवको रौनक बढाउछ । दर्शकहरुलाई महोत्सवमा भरपुर मनोरञ्जन प्रदान गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौ । त्यसैले हाम्रा राष्ट्रिय चर्चित विभिन्न कलाकारलाई हामी महोत्सवको मञ्चमा उतार्ने छौ । मुख्य गरी ईन्द्रेणी ग्रुपका कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । महोत्सवमा प्रकाश सपुत, शान्तीश्री परियार, शिव हमाल, पोख्रेली माग्ने बुढा, धुर्मुस, रुपक डोटेल, काजल गुरुङ, हेमन्त शर्मा, बुद्धी खनाल, कमला घिमिरे, शर्मिला गुरुङ, शंकर बिरही गुरुङ, रमेश बिजी, दुर्गा रायमाझी, राजन कार्की, नेत्र खड्का, रिता केसी, पुरुषोत्तम न्यौपाने, शिरिष देवकोटा, शान्ती डोटेल, कमला गैरे, दिपक थापा, घनश्याम रिजाल, पशुपती शर्मा, उमादेवी खनाल, सन्तोष बस्याल, सरस्वती लामिछाने, प्रिन्स लम्साल, वसन्त थापा, राजु गुरुङ, प्रजापती पराजुली, तुल्सा जिसी, चेतन गोतामे, रामजी खांण, कृष्णा गुरुङ, रामजी पौडेल, सुनिता नेपाली, शिशिर योगी, नबिन पौडेल, बिमलराज क्षेत्री, लक्ष्मी नेपाली लगायतका कलाकारहरु आउंदै हुनुहुन्छ ।
-अन्त्यमा महोत्सव सफल पार्न के आह्वान गर्न चाहनुहुन्छ ?
यो महोत्सव कुनै एक संघ संस्थाको मात्र होइन । हामी सबैको गरिमा हो, इज्जत हो, शान हो । महोत्सव सफल हुने भनेको हामी समग्र भीरकोटबासीको मात्र नभै जिल्लाबासीको सफलता हो । यो महोत्सव हाम्रो क्षेत्रलाई देश विदेशमा चिनाउने माध्यम पनि हो । अवसर पनि हो । त्यसैले हामी सबै यो महोत्सवलाई सफल पार्न आ आफनो स्थानबाट सहयोगमा जुट्नै पर्छ । महोत्सवको सफलताका लागि सबैले सहयोग पु¥याउन आयोजकको तर्फबाट अनुरोध गर्न चाहन्छु । विशेष गरी सम्पूर्ण संघ संस्था, क्लब, आमा समूह, बिद्यालयका शिक्षक बिद्यार्थी लगायत सबै सबैमा महोत्सवलाई सफल पार्न आ आफ्नो तह र तप्काबाट सहयोग गरिदिनुहुन आग्रह समेत गर्न चाहन्छु ।