स्याङ्जा, १७ माघ ।
स्याङ्जाको वालिङ नगरपालिका रौतहटमा जारी ‘चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६’ को फाइनलमा प्रवेश गरेको छ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी प्रतियोगितामा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको प्रशिक्षक दिलीप थापाले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा वालिङको जितका लागि दुबै गोल अमिशा कार्कीले गरेकी थिइन् । कार्कीको गोलले वालिङलाई फाईनलमा पु-याएको हो ।
वालिङ नगरपालिकाले शनिबार आयोजक चन्द्रपुर नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक थापाले जानकारी दिए । चन्द्रपुरले मोरङको बिराटनगर महानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।उक्त खेलमा वालिङकी सरिष्मा थापा ‘वमन अफ दी म्याच’ घोषित भइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय हुने नगरपालिकाले क्रमशः तीन लाख र एक लाख पचास हजार प्राप्त गर्नेछन् भने सेमिफाईनलमा प्रवेश गर्ने दुई नगरपालिकाले ५०–५० हजार नगद प्राप्त गर्नेछन् ।