वालिङ, १७ माघ ।
वालिङ नगरपालिका २ र ४ का स्थानीयलाई व्यावसायीक मौरीपालन तालिम मार्फत उद्यमशीलता विकास गर्न शिपमुलक तालिमको सुरुवात गरिएको छ ।
तिन दिन सम्म सन्चालन हुने तालिम युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरर्गत सन्चालन गरिएको हो ।
तालिमको उद्घाटन वालिङ नगरपालिका वाड नं २ का वडा अध्यक्ष पोत प्रसाद लम्सालले गरेका थिए । उनले व्यावसायीक रुपमा मौरीपालन गर्न सके गाँउमै बसेर आम्दानी गर्न सकिने वताए ।
कार्यक्रमको बारेमा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी गराएका थिए ।
तालिममा मौरी पालन संघका केन्द्रीय उपाध्यक्ष श्याम प्रसाद अर्यालले सहजीकरण गरेका थिए । तालिममा ३५ जना कृषकहरुको सहभागिता रहेको छ । मौरीपालन कृषि सहकारीका अध्यक्ष केदार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कलेक्सन प्रमुख बिशाल बगालले गरेका थिए ।
त्यस्तै वालिङ १ मा व्यावसायीक मोडा बनाउने तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै वडा अध्यक्ष केदार काफ्लेले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
सीपलाई व्यवहारमा उतार्न सके सहजै आर्थिक उपार्जन गर्न सकिन्छ, वडा अध्यक्ष काफ्लेले स्थानीयलाई सीपमुलक कार्यक्रम मार्फत उद्यमशीलताको विकास गर्ने अभियानमा आफू लागेको जानकारी दिए ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कबिता तिवारी गैह्रेले कार्यक्रमले सीपयुक्त दक्ष उद्यमी बनाई समग्र नगरपालिकाका नागरिकको आर्थिक स्तरमा सुधार ल्याउने लक्ष्य राखेको जानकारी दिइन् । उनले उत्पादित सामाग्रीलाई बजारीकरण गर्ने कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको सो अवसरमा जानकारी गराइन ।
कार्यक्रममा श्रीनगर टोलका अध्यक्ष एबं समाजसेवी सोम बहादुर गुरुङ, सहभागी पुनमाया गुरुङ, प्रशिक्षक पूर्ण बहादुर गुरुङ, लगायतले उत्पादित वस्तुको बजारीकरणमा नगरपालिका सहयोगी वन्नुपर्नेमा जोड दिएका थिए ।
श्रीनगर मोडा तथा ड्रेस उत्पादन सहकारीका उपाध्यक्ष उशा गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कृषि प्राबिधिक सीता काफ्लेले गरेकी थिइन् । तीन दिन सम्म चलेको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।