वालिङ, १५ माघ ।
गृहणी महिलाहरुलाई घरमै बसेर उद्दमशील वनाउने उद्देश्यले वालिङ नगरपालिका वाड नं ८ र १० का महिलाहरुलाई पाँच दिने हस्तकला सम्वन्धी तालिम सुरु गरिएको छ ।
वालिङमा सञ्चालित सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत तालिमको सुरुवात गरिएको हो । तालिमको वुधवार वडा नं ८ का अध्यक्ष कमलप्रसाद सुवेदीले विधिवत सुभारम्भ गरेका छन् ।
सुवेदीले तालिममा सिकेको सीपलाई व्यावहारमा रुपान्तरण गर्न सके उद्यमशीलताको विकास हुने वताएका थिए । घरमा काम गरेर बचेको समयमा आर्थिक उपार्जन गर्न सकिने भन्दै सुवेदीले गृहणी महिलाहरुको लागि यो विशेष अवसर भएको वताए । यसरी उत्पादन गरेको हस्तकलाका सामाग्री विक्रि वितरण र बजार व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने समेत सुवेदीको भनाई थियो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले सीपयुक्त तालिम प्रदान गरि नगरपालिकामा दक्ष उद्यमी तयार गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । त्यस्तै दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रेले उद्यमी बन्न चाहने व्यक्तीहरुका लागि बिना धितो १५ लाख सम्म ऋण पाउने व्यवस्था रहेको वताइन् ।
कार्यक्रममा दियालो शुआहारा कार्यक्रमका जिल्ला प्रवन्धक ओमसुव गुरुङ, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, शिल्पकौशल हस्तकला महिला सहकारीका उपाध्यक्ष कृष्ण मल्ल, सिलाई बुनाई तथा पेन्टीङ सहकारीका कोषाध्यक्ष कमला पौडेल लगायतले बोलेका थिए ।
तालिमको उद्घाटन कार्यक्रम शिल्पकौशल हस्तकला सहकारीका अध्यक्ष दुर्गा न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । ५ दिन सम्म चल्ने तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । यस्तै वालिङ ७ को बन्कट्टा र १० फोक्सिङमा सुन्तला तथा कागती उत्पादन सम्वन्धी तालिम शुरु भएको छ भने वालिङ १४ को दाङ्सेमा बाख्रा पालन सम्वन्धी तालिम शुरु भएको छ ।