युवाहरु उत्पादन संग जोडिनु पर्छ -पूर्ब राष्ट्रिय अध्यक्ष दुलाल ।
वालिङ, १२ माघ ।
विश्व वन्धुत्व, विधिको शासन, आर्थिक न्याय नेतृत्व एंव व्याक्तित्व विकास र मानवताको सेवा जस्ता आदर्श लक्ष्य लिएको विश्वव्यापी संगठनलाई आत्मसाथ गर्दै सन २००४ मा स्थापना भएको वालिङ जेसीजको १६ औं पदस्थापन समारोहवाट वर्ष २०२० का लागि अध्यक्ष होमकान्त गौतम नेतृत्वको कार्यसमितीले सपथ ग्रहण संगै पदभार ग्रहण गरेको छ ।
‘शासन ब्यक्तिको होईन विधिको हुनुपर्छ’ भन्ने मुल नारा रहेको वालिङ जेसीजको १६ औं पदस्थापन समारोहको नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा युवा उद्यमी सिनेटर भोलेश्वर दुलालले गरेका हुन ।
शनिवार वालिङ नगरपालिका स्थित विपिचोकमा रहेको शुभम् पार्टी प्यालेसमा आयोजित भव्य समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी दुलालले जुनसुकै सफलता प्राप्तिको लागि पहिला सपना देख्नुपर्ने र देखिएको सपना पूरा गर्न इच्छा शक्ति आवश्यकता रहेको वताएका छन् ।
सिनेटर दुलालले वस्तुको उत्पादन नबढाईकन देश धनी नहुने भएकाले अब जेसीजले उत्पादनतर्फ जोड दिनुपर्ने उनको भनाइ थियो । “देशमा आयात भन्दा पनि निर्यात गर्नका लागि उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ जबसम्म उत्पादनमा हामी जोडिन सक्दैनौं र यहाँबाट निर्यात गर्न सक्दैनौं तबसम्म हामीले चाहेको समृद्धि सम्भव छैन” उनको भनाई थियो ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जेसीजबाट विधिको शासन र मानवता सम्बन्धी ज्ञान प्राप्त हुने भएकाले जेसीजबाट सिकेका कुरालाई ब्यवहारमा उतार्न आवश्यक रहेको बताए ।
उनले जबसम्म हाम्रो सोँचमा परिवर्तन हुन सक्दैन तबसम्म सकारात्मक विकासमा अप्ठ्यारो हुने धारणा व्यक्त गरेका थिए । वालिङ जेसिजले आतिथ्यता गर्ने वर्ष २०२० को नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्यालले जेसीजको नविनतम सोंच र युवा उर्जा देश विकासमा लगाउन आवश्यक रहेको वताउदै विधिको शासनको वकालत गर्ने संस्थाले वर्तमान सरकारलाई खवरदारी गर्न आग्रह गरेका थिए । नेतृत्व र व्यक्तित्व विकासमा अब्बल मानिएको जेसीजले उत्पादन गरेका युवाहरु देश विकास र समाजसेवामा लगाएर देशलाई सहि वाटोमा हिडाल्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले आफू पनि जेसीजसंग आवद्ध भएर राजनीति संगसंगै गर्दा नेतृत्वमा आएको परिवर्तनको महशुस भएको वताउदै जेसीजको अभियान सकारात्मक रहेको धारणा व्यक्त गरेकी थिइन् ।
नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी, राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, वालिङ जेसीजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ जेसीजका पूर्व अध्यक्षहरु दिपक लम्साल, भीमप्रसाद पंगेनी, वर्ष २०१९ का अध्यक्ष राजु तिवारी, पदस्थापन कार्यक्रमका संयोजक एवं शाखा निर्देशक राधाकृष्ण डुम्रे, जेसी दुर्गा न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए । भने यस वर्षको नयाँ कार्यसमितीलाई बधाई दिएका थिए ।
कार्यक्रममा वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । सो अवसरमा उनले नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सहितका बिशेष कार्यक्रम गर्ने कार्यतालिक सार्जजनिक गरेका थिए । भने २०१९ का अध्यक्ष राजु तिवारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए । उनले आफ्नो कार्यकालमा पूर्णरुपमा सहयोग गरेका वर्ष २०१३ का अध्यक्ष देव वोगटी र २०१६ का अध्यक्ष प्रदिप कोइरालालाई सम्मान गरेका थिए ।
मानार्थ सदस्यता सहित सम्मान
वालिङ जेसीजको १६ औं पदस्थापन समारोहका विच नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण र उपप्रमुख कल्पना तिवारीलाई जेसीजको मानार्थ सदस्यतावाट सम्मान गरेको छ ।
वालिङ जेसीजको संस्थापक सदस्य समेत रहेका दुबैजनाले वालिङ जेसीजले वर्ष २००८ वाट वालिङको पहिचानको लागि थालनी गरेको पिङ्क सिटीको अभियानलाई नगरपालिकामा आफूहरु निर्वाचित भएपछि सभावाट पिङ्क सिटि निर्माणका लागि नितिगत निर्णय गरी अभियानलाई पुर्णता दिएको मा वालिङ जेसीजको मानार्थ सदस्यता सहित सम्मानित गरिएको हो ।
वालिङ जेसीजका पूर्व अध्यक्ष सहित वर्ष २०१९ को वोर्डले सम्मान गर्ने निर्णय गरेको थियो । पूर्व अध्यक्ष दिपक लम्सालले सम्मानको कार्यक्रम सन्चालन गरेका थिए ।
सुरुवाती कार्यक्रमको सभापतित्व वर्ष २०१९ का अध्यक्ष राजु तिवारीको सभापतित्वमा र सपथ ग्रहण पश्चात वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चलन वर्ष २०१९ का महासचिव धु्रव पंगेनी र वर्ष २०२० का महासचिव विश्वास लम्सालले संचालन गरेका थिए ।