पोखरा, ९ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् ।
बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।
चुनावमा नेकपा, काँग्रेस र जनमोर्चाबाट २ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा १ सय ७० मतदातामध्ये १ सय ६८ जनाले मतदान गरेका थिए । चुनावमा गोरखा सिराञ्चोक गाउँपालिका उपाध्यक्ष रीता देवकोटा र मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट उपस्थित भएनन् ।
विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ नै विजयीको प्रमाणपत्र प्रदान गरेको छ । गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा काँग्रेसका सुरेन्द्र पाण्डे र वृन्दा आले रानाको कार्यकाल सकिएको छ ।