झापा, २९ पौष ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४ औ महाधिबेशनबाट शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।
सोमबार झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए । कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै देउवालाई सभापति बन्नबाट रोक्ने दावी गरे ।
महामन्त्री कोइरालाले देउवाले पार्टी चलाउने भन्दा पनि गुटमात्रै चलाउने गरेको आरोप लगाए । कोइरालाले सभापति देउवासँग पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट गरेका निर्णय सच्याउनुको विकल्प नरहेको समेत उल्लेख गरे । उनले सरकारले सुचना प्रविधि बिधेयक मार्फत स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्न खोज्नु निन्दनीय रहेको बताएका थिए ।