स्याङ्जा -२४ पौष ।
वालिङ बोलबम समितिको सक्रियतामा संचालनमा ल्याएको बोलबम बहुउदेश्यीय सहकारी संस्थाले मुनाफाको ५ प्रतिशत रकम सामाजिक उत्तरदायीत्व अन्तरर्गत खर्च गर्ने घोषणा गरेको छ ।
संस्थाको पहिलो बार्षिक साधरणसभावाट अनुमोदन गरेपश्चात अब देखि नाफाको ५ प्रतिशत रकम समाजसेवामा खर्च गरिने सहकारीले जनाएको छ । सहकारीहरु नाफामुखी भइरहेका बेला यो सहकारीले भने समाजिक उत्तरदायीत्वलाई जोड दिएर मानवताको सेवा, दैवि विपत्ती जस्ता कार्यहरुमा खर्च गर्ने गरी कोष खडा गरेको छ ।
मृगौला पिडित, आगालागी पिडित, बाढी पहिरो पिडित, गरिब जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको बोलबम समितिले अब संस्थागत रुपले नै समाजिक कार्यमा पनि सहकारीको सहभागिता होस भन्ने उदेश्यले यो अभियानको थालनी गरेको सहकारीका अध्यक्ष दिपेन्द्र तिवारीले बताए । संस्थाको चलायमान अवस्था हेरेर आवश्यकता परेमा ५ प्रतिशत भन्दा माथी बढाउने पनि छौ अध्यक्ष तिवारीले भने,“सहकारीको पनि समाजिक कार्यमा सेवा गर्ने उत्तरदायीत्व हुन्छ ।” शेयर सदस्यलाई नाफा मात्रै बाढ्ने भन्दा पनि समाजिक कार्यमा पनि लाग्नु आवश्यक छ उनले भने । संस्थाको विधानमै राखेर नाफाको ५ प्रतिशत कोष खडा गर्ने स्याङ्जामा यो पहिलो सहकारी रहेको बताइएको छ । १ करोड १३ लाख १४ हजार शेयर पुजी, २ करोड ३७ लाख, ६६ हजार निक्षेप र २ करोड ९७ लाख कर्जा लगानी गरेको सहकारीले छोटो समयमा करिव ९ लाख नाफा गरेको जनाएको छ ।
सहकारीको नीति र सिद्धान्त अन्तर्गत यो सहकारीले राम्रो कामको थालनी गरेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताईन् । सबै सहकारीले यस्ता खालका कार्यहरु गरी सामाजिक उत्तरदायीत्वलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको बताईन् । तिवारीले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनु आवश्यक छ । सहकारीको नीति र सिद्धान्त भित्र रहेर आफ्ना सदस्यहरु विच गरिने व्यवसाय भएको हुनाले सदस्यहरुको पिर र मर्काको सहयोगी वन्न समेत सबै सहकारीहरुलाई आग्रह गरिन् ।
यो सहकारी बहुउद्देश्यीय सहकारी भएकाले सस्तो पसल पनि छिट्टै संचालनमा ल्याउने तयारी गरेको बताइएको छ ।