तोलाकान्त बगाले
वालिङ, ३ पौष ।
लोकसेवा आयोगबाट सिफारिस भई हालै वालिङ नगरपालिकामा आएका दुई कर्मचारीलाई सेवाग्राही साक्षी राखेर सपथ गराईएको छ । प्रशासनतर्फको लेखा अधिकृत छैठौं पदका भुवानी तिवारी र सामान्य प्रशासनतर्फको सहायकस्तर पाँचौंका ज्योतिप्रसाद अर्याललाई वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले विहिवार सेवाग्राहीलाई साक्षी राखेर सपथ गराएका हुन् ।
“सपथ ग्रहण फारममा लेखिएका शर्तहरुमा दस्तखत गरेपछि सपथ लिएको ठानिन्थ्यो” प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने, “यसरी सर्वसाधारण तथा सेवाग्राहीलाई साक्षी राखेर सपथ ग्रहणले आगामी दिनमा कर्मचारीलाई झन कर्तब्यनिष्ठ तथा पेशाप्रति बफादार हुन अभिप्रेरित गर्ने छ ।” सर्वसाधारणलाई अगाडि राखेर सपथ ग्रहण गरेसँगै कर्मचारीले आफ्नो काम, कर्तब्य र अधिकार नविर्सने भएकाले पनि वालिङमा नमूनाको रुपमा सर्वसाधारणलाई साक्षी राखेर सपथ ग्रहण गराईएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए ।
सपथ लिएका नवनियुक्त दुई कर्मचारीहरुले आँफूहरुले पाएको जिम्मेवारीलाई कर्तब्यनिष्ठ, अनुशासित, मर्यादित र कुनै लोभलालचमा नपरिकन सेवाग्राहीलाई छिटो छरितो सेवा दिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।