काठमाडौँ, २७ मंसिर ।
नेपाली काँग्रेसको विहिवार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव प्रस्तुत गरेको हो ।
विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयमा सानेपामा आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको विधानको दफा ३७ ९१० (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गरी विधानकै दफा ३७ ९२० अनुसार सो प्रस्ताव गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रस्तावित केन्द्रीय विभागमा सङ्गठन, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, आर्थिक नीति तथा योजना, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, नेपाली जनसम्पर्क समिति समन्वय, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, स्थानीय तह समन्वय, महिला, तरुण, विद्यार्थी, जिल्ला सम्पर्क समिति समन्वय, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग–व्यापार, पर्यटन, निर्माण, यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान, आदिवासी जनजाति र खेलकुद विभाग रहेका छन् ।
यसैगरी प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन, फरक क्षमता समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय संस्था तथा सहकारी समन्वय, पिछडिएको क्षेत्र समन्वय, विज्ञान तथा प्रविधि, भूपू सैनिक, अन्य पार्टी सम्पर्क र समन्वय, शुभेच्छुक संस्था समन्वय र अन्य भ्रातृ सङ्घ समन्वय गरी ४१ विभाग गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो ।
पौडेल पक्षले काँग्रेस बैठक बहिस्कार गर्यो
कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीवार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ ।
देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अडान लिँदा पौडेल पक्षले बैठक बहिस्कार गरेको हो ।
बहिस्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेको छ ।
स्थानीय तहका संरचना समायोजनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले काम नसकेको र क्रियाशील सदस्यताको अद्यावधिक नभएकाले देउवाले महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नचाहेको उनीनिकट नेताहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।