भिरकोट, २० मंसिर ।
‘समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार’ भन्ने मुल नाराका साथ आगामी फागुन १ देखि ११ गतेसम्म दोस्रो भीरकोट महोत्सव हुने भएको छ । भीरकोट उद्योग वाणिज्य संघले कृषि, पर्यटन, सांस्कृतिक एवं औद्योगिक व्यापार मेला २०७६ को आयोजना गर्ने भएको हो ।
आयोजक भिरकोट उद्योग वाणिज्य संघले शुक्रवार बयरघारी स्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत अध्यक्ष भक्तवहादुर केसीले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर महोत्सव आयोजना गरिएको जानकारी दिए ।
आन्तरिक एवम् वाह्य पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको भिरकोट नगरपालिका गण्डकी प्रदेशकै गहनाका रुपमा विकशित गर्न सकिने वताउदै अध्यक्ष केसीले ‘ऐतिहासिक, धार्मिक, साँस्कृतिक, जातिय विविद्यता तथा प्राकृतिक सौन्दर्यताको हिसावले रमणीय रहेको भिरकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ महोत्सवको परिकल्पना गरिएको हो,’ उनले भने।
कृषि, पर्यटन र व्यापारबाटने भिरकोटको विकासमा टेवा पुग्ने वताउदै अध्यक्ष केसीले दोस्रो भिरकोट महोत्सववाट नगर क्षेत्र भित्र रहेका पर्यटकीय सम्भावना रहेका स्थानको चिनारी, कृषि उपजको प्रर्दशनी, यहाँको उत्पादनको प्रवर्दन र विकासमा जोड दिएको पत्रकार सम्मेलनमा जानकारी दिए।
पत्रकार सम्मेलनमा भिरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले भिरकोटको पहिचान र समृद्धिका लागि महोत्सवले योगदान पुर्याउने बताए। भिरकोट सानो रहेको तर, सुन्दर रहेको वताउदै नगर प्रमुख खनालले यस क्षेत्रको मौललिक कला, कृषि, पर्यटन र संस्कृतिको जगेर्न गर्दै प्रवर्धनमा सहयोग पुर्याउने बताए ।
प्रमुख खनालले सकरात्मक सोंच साथ अगाडि बढ्नुपर्ने भन्दै मेलाको व्यवस्थापन पक्ष महत्वपुर्ण रहने बताए । मेला महोत्सवमा पुँजी भित्रने वातावरण समेत सृजना हुने भन्दै मेलामा स्थानीय कृषक तथा व्यापारीलाई प्रोत्साहन गरिने प्रमुख खनालले बताए । भीरकोट नगरपालिका बालमैत्रि घोषणाको प्रक्रियामा रहेको भन्दै यहाँको शान्ती सुव्यवस्थाका लागी कटिवद्ध हुनुपर्ने बताएका थिए ।
महोत्सववाट झण्डै १ करोड आम्दानी अनुमान गरेको संघले सम्पूर्ण खर्चवाट झण्डै २५ लाख बचत गर्ने लक्ष लिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । बचत रकमवाट संघको भवन निर्माणको थालनी गर्ने समेत जनाएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, रत्यौली प्रतियोगिता, फलफूल तथा तरकारी प्रतियोगिता, पशुपंक्षी प्रतियोगिता, लोकभजन प्रतियोगिता, विद्यालय तथा क्लबस्तरीय नृत्य प्रतियोगिता, स्थानीय तह स्तरीय पन्चेबाजा प्रतियोगिता तथा समदायमा आधारित सांस्कृतिक झाँकी प्रतियोगिता समेत रहनेछन् ।
११ दिनसम्म सञ्चालन हुने मेलामा ४ करोडको व्यापारिक कारोबार हुने र साढे ३ लाख दर्शक भित्र्याउने लक्ष्य लिईएको छ । महोत्सवमा कृषि तथा पशुपंक्षी प्रर्दशनी, ताजा तरकारी प्रदर्शनी, पशुपंक्षी विक्रि तथा प्रदर्शनी, अटोमोबाईल, जडीबुटि प्रर्दशनी, फोटो प्रदर्शनी, शैक्षिक सामाग्री प्रर्दशनी, जातिय संस्कृतिको भिडियो प्रर्दशनी, मह प्रर्दशी, गोट चिज प्रर्दशनी, हस्तकला प्रदर्शनी तथा विभिन्न व्यापारीक प्रयोजनका २ सय स्टलहरु रहनेछन् ।
महोत्सवमा साधारण टिकटतर्फ ५० रुपैँया र विद्यार्थी तथा जेष्ठ नागरिकका लागी ३० रुपैँया तोकिएको छ । भीरकोट १ सिसौघारी मैदानमा हुने महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रर्वद्धन र विकास गरिने स्थानीय उत्पादनलाई बढवा दिने गुणस्तरीय अर्गानिक कृषि उत्पादनलाई बढाउँदै स्वारोजगार सिर्जना गर्ने महोत्सवको लक्ष्य रहेको छ । महोत्सवमा प्याराग्लाईडिङ, होमस्टे र पदयात्राको समेत व्यवस्था गरिनेछ ।
पत्रकार सम्मेलन संघका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव नुवादत्त अर्याल र स्वागत वरिष्ठ उपाध्यक्ष जगदिश कोईरालाले गरेका थिए।