तस्वीर : भवानी अधिकारी
स्याङ्जा, १० मंसिर ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी र लिपुलेकको सीमा विवाद बषौंदेखि चलिआएको विवाद रहेकोले समाधानका लागि सबै एकजुट हुनु पर्ने बताएकी छन् । सन १८१६ मा भएको सुगौली सन्धीदेखिको त्रुटीलाई सबै मिलेर समाधान गर्नु पर्नेमा उनको जोड थियो ।
पटक पटक सरकार र ब्यवस्था परिवर्तन भएपनि समस्या समाधान हुन नसकेको जनाउदै अव सबै एकै ठाँउमा उभिएर विवाद समाधानको बिकल्प खोज्नुपर्ने वताएकी छन् ।
तस्वीर ः भवानी अधिकारी
मालपोत कार्यालय स्याङ्जाको सुधारिएको सेवा प्रवाहको नमूना प्रणालिको मंगलबार उद्घाटन गर्दै मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालयलाई एकैठाँउमा गभेर सेवा प्रवाह गरिने बताईन । दुई वटा कार्यालयबाट सेवा लिन नागरिकलाई दुख भएको बताउदै नापी र मालपोत कार्यालयमा मर्ज गरि एकद्धार प्रणालीबाट सेवा प्रवाह गराईने योजनामा सरकार रहेको जानकारी दिइन । अन्य कार्यालयले पनि डिजिटल प्रबिधिको अधिकतम उपयोग गर्दै छिटो, छरितो र पारदर्शि सेवा उपलब्ध गराई हरेक पक्षमा लोकतन्त्र र गणतन्त्रको अनुभूति गराउन मन्त्री अर्यालले जोड दिएकी थिइन ।
तस्वीर ः भवानी अधिकारी
कार्यालयको प्रणाली परिवर्तनका लागि सफ्टवयर निर्माणगरी कलंकी मालपोतबाट सुरु भएको र अहिलेसम्म ४ वटा सुधारिएको सेवा प्रवाह सहितको नमूना मालपोत कार्यालयको उदघाटन भइसकेको छ । देशभरका १ सय ३० मालपोत र १ सय ३० नापी कार्यालयलाई प्रबिधिमैत्री र एकद्धार प्रणाली अन्र्तगतको सेवा उपलब्ध गराउने तयारी भैरहेको मन्त्री अर्यालले जानकारी दिएकी थिइन् ।
तस्वीर ः भवानी अधिकारी
कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायणप्रसाद मरासीनी, प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ्, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुृतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्री, अर्जुनचौपारी गाउपालिका प्रमुख दिर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ् र मालपोत कार्यालय प्रमुख प्रकाश पौडेल लगायतले जिल्लाबासीको सम्पती रक्षा गर्ने जिम्मेवार कार्यालयले सुरुवात गरेको उदाहरणीय कार्यबाट जिल्लाबासी नागरिकले पाउने छिटो छरितो र न्यायिक सेवा निरन्तर पाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यालयमा यसअघि भएका पुराना शैलीलाई परिवर्तन गर्दै एउटै भवनभित्र सबै कामकाज सकाउनेगरी सेवा प्रवाहको ब्यववस्था मिलाएको छ । कार्यालयभित्र प्रतिक्षालय, टेलिभिजन, फ्रि वाइफाई, भेन्डिङ मेशिनवाट टोकन लिने ब्यवस्था, राजश्व दाखिलाका लागि बेैंक काउन्टर, एकद्धार सेवाका लागि आवश्यक लेआउट को ब्यवस्था, सेवाग्राहीका लागि चिसो वा तातो पानी, चिया, महिला पुरुषका लागि छुट्टाछुट्टा शौचालय, पार्किङको ब्यवस्था, कार्यालयलाई अपांगमैत्री, बालमैत्री, महिलामैत्री बनाउनेगरी भौतिक संरचना निर्माण गरिएका छन् ।
सोही कार्यक्रममा कार्यालयका नायब सुब्बा डालबहादुर थापा र ममता अर्याललाई सम्मान गरिएको छ भने सेवानिबृत्त नायबसुब्बा ख्यामबहादुर थापा र कार्यालय सहयोगी द्धय रामबहादुर थापा र वेदप्रसाद रेग्मीलाई कदर पत्रले सम्मान गरिएको छ ।