पोखरा, मंसिर ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको आरोप लगाएका छन् ।
शनिबार पोखरा महानगरपालिका–१६ मा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको सहमतिबेगर भारतले लिपुलेक र कालापानीमा दाबी गर्न नसक्ने जिकिर गरे ।
‘म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो । महाकाली नदीलाई सीमा मानेर पानी आधा—आधा गर्ने सहमति भएको हो’–उनले भने ।उनले प्रधानमन्त्री ओलीले लिपुलेक र कालापानी भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गर्दै लम्पसारवादमा परिणत भएको आरोपसमेत लगाए ।
‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भू–भाग फिर्ता ल्याउन पहल गरौं, हामी साथ दिन्छौं भन्यौं–सभापति देउवाले भने–‘सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं । तर, सरकार मौन छ । कानमा तेल हालेर अझै बसिरहेको छ ।’
उनले सरकार अबपनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
भ्रम छरेर चुनाव जिते : पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट पार्टीलाई धोकेबाजको संज्ञा दिए ।‘अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिस्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्’–उनले भने ।
मुलुकलाई भेनेजुयला र रुवान्डा बनाउन लागियो : शशांक
सोही सभामा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवान्डा बनाउन लागिपरेको आरोप लगाए ।
उनले भने–‘सरकार मुलुकको हितमा, जनताको हितमा, लोकतन्त्र, संविधानको हितमा, संघीयता, गणतन्त्र, समावेशीताको हितमा छैन ।’
नेता डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिस्ट सरकार ब्रम्हलुट मच्चाउन उद्दत रहेको आरोप लगाए । ‘कम्युनिस्ट देश र जनताको हितमा कहिल्यै हुन सक्दैनन्’–उनले भने ।
नेता गगनकुमार थापाले सरकारको गति र मति सच्चाउनका लागि पनि कांग्रेसले जित्नुपर्ने जिकिर गरे । कास्की क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खेमराज पौडेलले आफू सधैं कास्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गरे । इमेज खवर अनलाइन