वालिङ, ६ मंसिर ।
स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्थाको २७ औ साधारण सभा तथा आठौं अधिवेशनले सहमतीवाट भरत बगालेको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ ।
वुधवारवाट सुरु भएको अधिवेशन शुक्रवार अवेर सम्म सहमतीको लामो प्रयासवाट सर्वसम्मत नेतृत्व चयन भएको हो । नयाँ कार्य समितीको उपाध्यक्षमा लक्ष्मीपति पौडेल, सचिवमा यज्ञप्रसाद अधिकारी, कोषाध्यक्षमा गोकर्ण भट्टराई र सदस्यहरुमा दुर्गा न्यौपाने, तारा तिवारी, रुपा थापा, पवन बश्याल, नारायण प्रसाद रेग्मी, राजकुमार गैह्रे सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितीमा सागर गैह्रेको नेतृत्वमा नारायण प्रसाद गौडेल सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । भने ऋण उपसमितीको सदस्यमा घनश्याम पाठक र सुमनकल्याण अर्याल चयन भएका छन् ।
अधिवेशनमा १९ पदका लागि ४९ जनाले उमेद्वारी दिएका थिए । अध्यक्ष पदमा ५ जना प्रतिस्पर्धामा रहेका थिए । अध्यक्ष पदका प्रतिस्पर्धीहरु जगदिश प्रसाद गैह्रे, गिरमान गुरुङ, शिवलाल डुम्रे, रेशमलाल कोइरालाले आफ्नो उमेद्वारी फिर्ता लिएपछि बगाले सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचन समितीले शुक्रवार दिउसो २ बजे सम्म सहमतीको लागि समय प्रदान गरेको थियो । निर्धारित समय सम्म सहमती हुन नसकेपछि उमेद्वार र संस्थाका सेयर सदस्यहरुको आग्रमा समय थप गरि वेलुकासम्म समय थप गरि सर्वसम्मत गराउन ठूलै कसरत गर्नु परेको थियो ।
निर्वाचन समितीका संयोजक गुरुदत्त सुवेदीले निर्वाचित पदाधिकारी सहित सदस्यहरु घोषणा गर्दै सम्पूर्ण निर्वाचित नयाँ कार्यसमितीलाई बधाइ तथा शुभकामना दिएका थिए । सोही अवसरमा संयोजक सुवेदीले नयाँ कार्य समितीलाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तवाट विचलित नभइ सहकारीको उन्नती प्रगतीमा लाग्न सबैलाई आग्रह गरेका थिए । सोही अवसरमा संस्थाका निर्वतमान अध्यक्ष पुण्य प्रसाद अर्यालले संस्थाको गरिमा अझ उच्च राख्न नवनिर्वाचित पदाधिकारी सहितको नयाँ कार्यसमितीलाई आग्रह गर्दै बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
नव निर्वाचित कार्य समितीलाई शनिवार विहान सपथ ग्रहण र प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितीले जनाएको छ ।
२०५० सालमा स्थापना भएको सहकारीले वालिङ नगरपालिकाको वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी चार वटा सेवा केन्द्र मार्फत आफ्नो कारोवार सञ्चालन सन्चालन गर्दै आएको छ । सहकारीले वालिङमा आप्mनै भवनमा प्रधान कार्यालय राखेको छ । जिल्लाकै मात्र नभई गण्डकी प्रदेशमै नमूना सहकारीका रुपमा स्थापित भएको संस्थाको दावी छ ।
वालिङ, गल्याङ, भीरकोट, चापाकोट गरी चार नगरपालिका र कालीगण्डकी तथा बिरुवा गाउँपालिकाका साथै हरिनास गाउँपालिकाका केही भागसम्म कार्यक्षेत्र विस्तार गरेको सहकारीमा छ हजार चार सय ४१ शेयर सदस्य रहेका छन् ।
सहकारीमा गत असार मसान्तसम्म शेयर पूँजी रु. छ करोड ४४ लाख ४७ हजार सात सय रहेको छ भने निक्षेप रु ४६ करोड १३ लाख ६६ हजार चार सय ३५ रहेको छ । भने, कर्जा लगानी रु।५४ करोड १९ लाख ७२ हजार चार सय ३५ गरी संस्थाको कूल कारोवार रु.७० करोड ४४ लाख ७८ हजार आठ सय ७४ रहेको सहकारीले जनाएको छ ।