सहभागीले भने मेयर साव, हामीले धुलो कहिले सम्म खाने ?
वालिङ, २८ कात्तिक ।
नागरिकको गुनासो सुन्ने, समस्या समाधान गर्ने र नगरपालिकावाट भए गरेका सेवा प्रवाहका वारेमा सार्वजानिक गर्ने उद्देश्यले बिहिवार वालिङ नगरपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा नागरिकहरुको गुनासो ओइरो लागेको छ ।
वालिङ नगरपालिकाले गत आर्थिक वर्षमा भए गरेका कामहरु र यस आर्थिक वर्षको पहिलो चौमासिक बजेट खर्च, आम्दानी र प्रगतीका विषयमा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले विवरण प्रस्तुत गरेपछि तिनै विषयहरु संग सम्वन्धित रहेर नागरिकहरुले जनप्रतिनिधिहरुलाई प्रश्न गरेका थिए ।
सार्वजानिक सुनुवाई कार्यक्रममा नागरिकहरुले सडक, स्वास्थ्य, खानेपानी, फोहरमैला व्यवस्थापन, विकास निर्माण, वातावरण र सुशासन लगायतका विषयहरुमा सम्वन्धित रहेर गुनासो राखेका थिए भने कतिपयले नगरपालिकालाई सुझाव समेत दिएका थिए ।
सहभागीहरुको अधिकांश प्रश्न र गुनासो सडकको धुलोको विषयमा उठाएका थिए । सिद्धार्थ राजमार्ग अन्र्तगतको वालिङ सडक खण्ड धुलाम्मे हुँदा नागरिकलाई सास्ती भएको गुनासो नगरवासीको रहेको थियो । वालिङ नगरपालिका १ देखि १३ को बाँयटारी सम्मको राजमार्ग घाममा धुलो र पानीमा हिलो हुँदा यात्रु तथा स्थानीयलाई समस्या भएको हुँदा यसको व्यवस्थापन कहिले हुने भन्ने प्रश्न अधिकांशले गरेका थिए ।
वालिङ १ का स्थानीय गिरमान गुरुङले राजमार्ग धुलाम्मे हुँदा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्वास्थ्यमा ध्यान दिन नगरपालिकालाई सुझाव दिए । उनले भने, ‘कहिले सम्म नगरवासीले धुलो खानुपर्ने हो रु ’ व्यवस्थित पार्किङको अभावका कारण पैदल यात्रीको समस्या र बसपार्क निर्माण, अस्पताल निर्माणको विषयमा नगरपालिकाले चासो नदेखाएको प्रति गुरुङले नगर प्रमुख प्रति गुनासो पोखे ।
त्यस्तै वालिङ नगरपालिका वाड नं ८ का गोपाल कँडेलले राजमार्ग विस्तार विना योजना सुरु गर्दा नागरिकहरुले दुःख पाएको वताए । उनले स्मार्ट सिटीको निर्माणका विषयमा रहेर पनि प्रश्न गरेका थिए ।
कार्यक्रममा युवा प्रकाश अधिकारीले नदीजन्य बस्तु रोक्का राख्दा नागरिकलाई भएको समस्या र विकास निर्माण प्रभावित भएको प्रति प्रश्न गरेका थिए उनले नगरपालिकामा एनजिओको कार्यालय किन राखियो, यो कत्तिको नियम संगत छ भनेर प्रश्न गरेका थिए । हाल चर्चामा रहेको गतिशिल महिला बहुउद्देश्यिय सहकारी संस्थाको विषयमा नगरपालिकाकोे धारणाका वारेमा प्रश्न गर्दै उनले भने, ‘सहकारी ऐन विपरीत लिइएको रकम फिर्ता हुन्छ की हुन्न र ? भन्ने प्रश्न गरेका थिए ।
सार्वजानिक सुनुवाई कार्यक्रममा अशोक तिवारीले फोहरमैलामा नाम कमाएको नगरपालिकाको फोहरमैला व्यवस्थापनमा चुनौति थपिएको प्रति प्रश्न गर्दै आँधीखोलाको किनारमा डोजर प्रयोग गरेर फोहर गाडिएको छ जसका कारण खेतिवालीमा परेको अषरका वारेमा नगरपालिकाको ध्यान खोइ भनेर प्रश्न गरेका थिए ।
फोहोरबाट मोहर रुपान्तरणको कामलाई अगाडी वढाएको नगरपालिकाको फोहर व्यवस्थापनमा आएको चुनौतिको विषयमा प्रश्न गर्दै नगर प्रमुखले फोहरको आम्दानी गत वर्ष ८२ लाख भयो भन्ने अभिव्यत्ति थियो यसको आम्दानी खर्च खोइ भनेर प्रश्न गरेका थिए । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले नीजि क्षेत्र सगँको सहकार्य किन हुन सकेन, लगानीको वातावरण वालिङमा हुँदा हँुदै बाहिरी लगानीकर्ता खोजीदा न बाहिरी लगानीकर्ता आए न नगरपालिकाका लागनीकर्तालाई समेट्ने प्रयास गरियो ।
यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरुलाई व्यवस्थित गर्न सुझाव दिएका थिए । शुद्ध पिउने पानी, दुर्गम वडामा यातायातको सहज व्यवस्था मिलाइयोस, आँधीखोला संरक्षणको योजना वनाइयोस भन्दै सुझाव दिएका थिए ।
सार्वजानिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको नगर प्रमुख दिलिपप्रताप खाँणले जवाफ दिएका थिए । उनले पार्किङलाई व्यवस्थित गर्दै वातावरणीय स्वच्छतामा ध्यान दिएर नगरपालिका अगाडि बढ्ने जानकारी दिए । साथै प्रमुख खांणले सिद्धार्थ राजमार्गको विषयमा सडक चौडा गर्ने कार्य र घुम्ति फराकिलो गर्ने कार्य सम्पन्न भएको वताउदै अबको चरणमा पिच गर्ने काम गर्न नेपाल सरकार संग अनुरोध गरिएको जानकारी दिए । यसैवर्षवाट काम सुरु हुने जानकारी दिए ।
सरकार सञ्चालन ऐनको नियमाली अनुसार नै सडक फराकिलो पारिएको भन्दै सडकमा गति नियन्त्रणका लागी विभिन्न उप समिति गठन गरी सिसि टिभि को प्रयोगवाट दुर्घटना न्यूनिकरणमा लाग्ने जानकारी दिए ।
गतिशिल सहकारीको विषयमा नगर प्रमुख खाँणले कानुन सम्मत यसको समाधान खोजिने जानकारी दिदैं गोपनियता भंग भएका कारण समस्या उत्पन्न भएको जानकारी दिए । स्मार्ट सिटी निर्माणको विषयमा प्रारम्भिक चरणमा काम सुरु गरेको वताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्बाङले जिल्लाको शान्ति सुरक्षा व्यवस्था मजबुद बनाउने भन्दै स्याङ्जा जिल्ला सचेत जिल्ला भएको बताए ।
कार्यक्रममा नेकपाका नगर सचिव रमेश अर्याल, कागे्रसका नगरसभापति भिमलाल सुवेदी, राप्रपाका देविलाल पाण्डे लगायतले हरेक विकासमा नगरवासी सगँ समन्वय गरेर अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । कार्यक्रम नगर प्रमुख दिलिप प्रताप खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपप्रमुख कल्पना तिवारी र सञ्चालत रेडियो आँधीखोलाका स्टेशसन म्यानेजर तोलकान्त बगालेले गरेका थिए ।
सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानीय सरकारी कार्यालयका प्रमुख, बैंक वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, उद्योगी व्यापारी, राजनीतिक दल, पत्रकार लगायतको उपस्थितीमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।