चापाकोट, १९ कात्तिक ।
चापाकोट नगरपालिका वडा नम्बर ७ भुरुङ्सिङमा सरस्वती आधारभुत विद्यालयको २ कोठे नबनिर्मित भवनको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीवाट आज उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले अहिलेसम्म भएको अधिकांश विकास लोकतान्त्रिक पार्टीले नै गर्दै आएको बताए ।उनले शिक्षामा गुणात्मक सुधार आवश्यक रहेको औल्याउदै चापाकोट नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा हरपल लागि रहेको बताएका थिए । चापाकोटको विकास निर्माणका कामहरुमा चापाकोट नगरपालिका सधैं सकारात्मक भएर लागेको हुँदा हल्लाको पछी नलाग्न नगरवासीलाई आग्रह गरेका थिए ।
गिरीले समग्र चापाकोट नगरपालिका शैक्षिक विकासमा अगाडि रहेको दावी गर्दै, शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता सहज ढंगले प्रदान गर्न नगरपालिकाको साधन र स्रोतको उच्चतम प्रयोग गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता जुट बहादुर राना, नगर सल्लाहकार ज्ञानेश्वर बास्ताकोटी, नगर सल्लाहकार बिश्वास पुरी, कार्यपालिका सदस्य सुर्य माझी, लगायतले बोल्दै विद्यालयको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका थिए
भवन विद्यालय शिक्षा इकाई स्याङ्जा र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा पन्चेबाजा सहित, रास्ट्रिय कलाकार शिव हमालको प्रस्तुति समेत रहेको थियो ।समाजसेवी दिपक खाँणको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समाजसेवी माधब गैरेले गरेका थिए ।सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञानेश्वर भट्टराईको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।