स्याङ्जा, १० कात्तिक ।
नेपाल सम्बत ११४० को अबसरमा स्याङ्जामा मोटरसाइकल र्याली एवं चियापान कार्यक्रम गरि मनाईएको छ । नेवाः देय दवुको आयोजनामा आयोजित कार्यक्रममा सयौं युवाले मोटरसाइकल र्याली गरेर नगर परिक्रमा गरेका थिए ।
पुतलीबजार नगरपालिका १ स्थित भिमसेनस्थान चोकमा आयोजित कार्यक्रममा बोल्दै नेवा: देय दवुका केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठले नेपाल सम्बतलाई सरकारी कामकाजमा ल्याउनु पर्नेमा जोड दिएका थिए । सरकारले नेपाल सम्बत संचालनमा ल्याउन चासो नदिनु दुखद रहेको बताएका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष महेन्द्रमान ब्यथित, सल्लाहकार अनन्तकुमार श्रेष्ठ लगायतले नेपालीको खास नेपाल सम्बत रहेको बताउदै शंखधर शाख्वाको योगदानका बारेमा चर्चा गरेका थिए ।
नेवाः देय दवुका अध्यक्ष गोबरधन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार अमृतप्रसाद श्रेष्ठले स्वागत एवं सचिव युगनारायण श्रेष्ठले संचालन गरेका थिए ।
भिमसेनचोकवाट सुरु भएको र्यालीले प्रगतीनगर, नारायणस्थान, पुतलीखेत, नेवार संग्राहलयय, देवानचोक, बाडखोला, मायटारी हुदै स्याङ्जा बजार राङखोलाबाट फर्केर चौकी अभियानपथ, ठाडोलाईन हुदै भिमसेनचोकमा पुगेर चियापान एवं शुभकामना कार्यक्रम गरी सम्पन्न गरिएको थियो ।