स्याङ्जा, ८ कात्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बेला बेलामा सुशासनका निम्ति प्रतिवद्धता जनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी सरकार सन्चालन गर्दा समेत जनभावना अनुरुप काम नगरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाद्धारा शुक्रवार पुतलीबजार नगरपालिका १ अभियापनपथ स्थित पार्टी कार्यालय आयोजित दशैं, तिहार, नेपाल सम्बत छठ, इद, ल्होसारको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको उदघाटन गर्दै श्रेष्ठले ठूल्ठूला भ्रष्टाचारजन्य कसुरमा आरोपित ठूला माछाहरु फुत्काउदै जाँदा ससाना माछा पनि फुत्कीरहेको वताएका छन् ।
‘मुलुकमा ठूल्ठूला घटना घटेका छन् । बालुवाटार जग्गा प्रकरण, ३३ क्विन्टल सुन, वाइडवडी प्रकरण र हत्या, हिंसा, बलात्कार लगायतका जघन्य घटनाका आरोपितलाई कानूनी कारवाही गर्न सरकारले नै चासो राख्दैन ।’ उनको भनाई छ । पूर्व उपप्रधान एवं पूर्व उपसभापति समेत रहेका श्रेष्ठले भने, ‘जो सुकै भएपनि कानूनी कारवाही को दायरामा ल्याउन जरुरी छ । कारवाही गर्नुहोस् । ’
भारतमा निर्वासनमा बेला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाले मेलमिलापको निति अनुरुप हरेक बर्ष नेपाली कांग्रेसले चाडपर्वलाई लक्षित गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको स्मरणमा जिल्ला जिल्लामा पनि यस्ता अभियान संचालन गरेको श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा संघीयसभा सदस्य नारायणप्रसाद मरासीनी, प्रदेशसभा सदस्यहरु दिपक थापा चर्ति मगर, पूर्व सांसद शंकरप्रसाद पाण्डे, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, भीरकोट नगरप्रमुख छायाराम खनाल, उपप्रमुख महेश पुरी, आधीखोला गाउपालिकाका उपाध्यक्ष शर्मिला पौडेल, नेकपाका उदय श्रेष्ठ, राप्रपा सचिव बिश्वन्धु पौडेल, राप्रपा संयुक्तका नेता रामबन्धु रेग्मी, नयाँ शक्ति नेपालका ख्यामनारायण ढकाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष राजेन्द्र गैह्रै, वामपन्थी नेता शोभाखर ढकाल, महिला नेतृ सरस्वती तिवारी, एनआरएनए का केन्द्रीय सदस्य जेदु पोखरेल लगायतले चाडपर्वले एक आपसको तित्तता र रिक्ततालाई मेटाउदै सहकार्य र एकता गर्दै विकास निर्माणमा अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गरेका थिए ।