काठमाडौँ, २६ भदौ । रौतहटको राजपुर नगरपालिका ८ कुडिया बजारमा गोली चलेको छ । बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दुहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि भएको बिवाद तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको हो ।
तनावग्रस्त अवस्था सिर्जना भएपछि अहिलेसम्म प्रहरीले २९ राउण्ड हवाइ फायर र ३० राउण्ड टियर ग्याससहित ५८ राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिए । अहिले सो क्षेत्र तनाब ग्रस्त भएको उननको भनाइृ छ ।
बुधबार साझ पनि झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्याससहित २९ राउन्ड हवाई फायर गरेको थियो । झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारी पनि घाइते भएका छन् ।
प्रत्येक वर्ष त्यस ठाउँमा मुस्लिमको पर्व मुहरर्म र हिन्दुहरूको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।