तस्विर: भवानी अधिकारी / स्याङ्जा
स्याङ्जा २३, भदौ
भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संचारमाध्यक्ष समाजको दर्पण र शल्यक्रिया दुबै भएको बताईन् ।
पुतलीबजार नगरपालिका १ स्थित लक्ष्मी सामुदायिक पुस्तकालयद्धारा संचालित स्याङ्जा टेलिभिजनको सोमबार औपचारिक शुभारम्भगर्दै मन्त्री अर्यालले संचारमाध्यमले बास्तविकता उजागर गर्ने र चिरफार दुबै गर्ने माध्यम भएको बताएकी हुन । पत्रकारितामा सकारात्मक पक्षलाई थाती राखेर नकरात्मक पक्षको प्रचार गर्ने प्रवृत्ती बढेको बताउदै मन्त्री अर्यालले छिट्टै लोकप्रिय हुन र कमाउनका लागि जे पनि लेख्ने छुट कसैलाई नहुने चेतावनी दिईन ।
पत्रकारलाई विश्वसनीय पत्रकारिता गर्न उनले आग्रह गरिन् । ‘आफनो छवी कस्तो बनाउने त्यो स्वयं पत्रकारको हातमा हुन्छ ।’ मन्त्री अर्यालले भनिन् ‘नकरात्मकताले दुर्गाग्य निम्तन सक्छ पत्रकारले ध्यान दिनु जरुरी छ ।’
बिभिन्न आन्दोलनका चरणमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउदै उनले सरकारले अभिभावकत्व दिन्छ कुनै पनि पत्रकार त्रसित, असुरक्षित हुनु पर्ने छैन । तर, केही डरलाग्दा प्रवृत्तीले समाज अराजकतातर्फ धकेलेको उनको भनाई छ । मन्त्री अर्यालले मिडिया काउन्सिल बिधेयकले पत्रकारलाई नियन्त्रण नभई नियमन गर्ने दावी गरिन् ।
तस्विर: भवानी अधिकारी / स्याङ्जा
कार्यक्रममा संबिधानसभा सदस्य राजु थापाले सरकारका मिठो र लोकप्रिय नाराले मात्र समृद्धी नआउने बताउदै बहुमत प्राप्त नेकपाको सरकार ३ वटै तहमा असफल बनेको बताए । नागरिकलाई शान्ति सुरक्षा र सुशासन दिन नसकेको बताउदै बिदेशी लगानी भित्रयाउन र स्वदेशी पुजीसमेत परिचालन गर्न नसक्ने अवस्थामा सरकार चलेको उनको भनाई छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, आधीखोला गाउपालिका अध्यक्ष सुधिर पौडेल, नेकपा अध्यक्ष सुरज गैहे पारस, नेपाली कांग्रेस कावा सभापति कुमार राना, राप्रपा संयुक्तका वरिष्ठ नेता रामबन्धु रेग्मी, समाजवादी पार्टी नेपालका अध्यक्ष ख्यामनारायण ढकाल, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, संचालक समितिका पूर्व सचिव नवराज लम्साल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, चेम्वर अफ कमर्शका महासचिव लोकनाथ रेग्मी, भागवत बाचक देवनयन लामिछाने लगायतले टेलिभिजनले आवाज बिहीनका आवाज बनेर काम गर्नु पर्नेमा जोड दिए ।
यसैबीच, रेडियो र टेलिभिजन संचालनका क्रममा महत्वपूर्ण योगदान पुरयाएको भन्दै निवर्तमान अध्यक्ष हेमराज अर्याललाई सम्मान गरिएको थियो । सो कार्यक्रममा बटुकद्धारा स्वस्ती बाचन र स साना नानीहरुद्धारा नृत्यु प्रस्तुत गरेका थिए ।
पुस्तकालय संचालक समितिका अध्यक्ष अनन्तराज मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद दोरंगाले स्वागत एवं सचिव धु्रवबन्धु पौडेलले संचालन गरेका थिए ।
वि.सं. २०४० सालमा स्याङजा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति पुस्तकालयले २०६६ भदौ २३ गते सामुदायिक रेडियोको उदघाटन गरेको थियो भने हाल एक दशकपछि सामुदायिक स्याङ्जा टेलिभिजन संचालनमा ल्याएको हो ।