सुर्खेत, भदौ १३ । नेपालगन्जबाट दैलेख लैजाँदै गरिएका गाई सुर्खेतको वीरेन्द्रनगरको कटकुवा जंगलको भीरबाट खसालिएको छ । भीरबाट खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते भएका छन् ।
बिहीबार राति नेपालगन्जको कान्जीहाउसबाट २९१ गाईसहित ८ ओटा ट्रक दैलेख हिँडेका थिए ।
तर, सम्बन्धित ठाउँमा नपुर्याइ गाईलाई सुर्खेत, वीरेन्द्रनगरको कटकुवास्थित जंगलको भीरबाट खसालिएको छ । ट्रकबाट ढुंगाजसरी खसाल्दा १६ गाई मरेका छन् भने ५० गाई घाइते अवस्थामा छन् ।
पशुकै सहारामा बाँचेका मानिसहरुले यस्तो अमानवीय व्यवहार देखाएको स्थानीय दुुर्गाबहादुर डाँगीको आक्रोश छ । बिहीबार राति साढे १२ बजेतिर गाई बोकेका ८ ओटा ट्रक सुब्बाकुना प्रहरीचौकीमा ‘इन्ट्री’ भएका र शुक्रबार बिहान करिब साढे ३ बजेतिर कटकुवा जंगलमा छोडिएको बताइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका अनुसार चौपायाहरुलाई भीरबाट खसालेर मारिएको हो ।
गाडीबाट सीधै भीरमा खसालेर गाई मार्नेहरुलाई कडा कारबाही गर्नुपर्ने स्थानीय गौरी केसीको भनाइ छ ।
यता, वीरेन्द्रनगर नगरपालिका अनुगमन उपशाखाका प्रमुख यामलाल गिरी सम्बन्धित ठाउँमा गाई नलिने व्यक्तिलाई कारबाही गरिने बताउँछन् । करिब तीन किलोमिटरको दूरीमा भीरबाट गाई खसालिएको देखिएको छ ।
चालकसहित ट्रक नियन्त्रणमा
यसरी विचबाटोमै गाई छोडेर फर्कने क्रममा बबईबाट पाँच वटा ट्रकसहित चालक प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
‘हामीले विहान ८ बजेमात्रै खबर पाएका थियौँ। त्यसलगत्तै स्वयं घटनास्थलमा पुगेर हामीले खोजतलास र अनुसन्धानको काम भइरहेको छ। ’प्रहरी नायव उपरीक्षक ९डिएसपी० रवि रावलले भने, ‘गाई छोडेर फर्कदैँ गरेका दुई वटा ट्रकसहित चालक बबईबाट र तीन वटा ट्रकसहित चालक छिन्चुबाट नियन्त्रणमा लिएका छौँ।’ नियन्त्रणमा लिएका ट्रक मध्ये ना. ५ ख. १०१५, ना. ६ ख. ४९४९, ना. ६ ख. ९१७७, ना. ६ ख. ९९०५ नम्बरका ट्रक रहेका छन्। एउटा ट्रक भने विग्रिएकाले बीचबाटोमै रहेको प्रहरीले जनाएको छ।