पोखरा, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् ।
शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गन्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले मिलेर कांग्रेस उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने बताए ।
‘चुनावमा टिकट एउटाले पाउँछ । टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ’–उनले भने ।
सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए । स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व काङ्ग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उले प्रजातन्त्रसहितको समाजवादमा काँग्रेस स्पष्ट रहेको बताए ।
सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको उनको भनाइ थियो ।
सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकामा यतिखेर जनता निराश भएको आरोप लगाए । नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको त्यो चाहनालाई काँग्रेसले पूरा गर्नुपर्ने बताए । पार्टीभित्रको गुटबन्दीले काँग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे ।
यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राखेका थिए
प्रशिक्षण कार्यक्रम उद्घाटनका अबसरमा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य कमला पन्त, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले पार्टी एकतामा जोड दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं उपसभापति विमलेन्द्र निधिलगायत दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । प्रशिक्षणमा गण्डकी प्रदेशमा ११ जिल्लाका करिब ३५० जनाको सहभागी थिए ।