हिमदुत सम्वाददाता
वालिङ–२७, साउन ।
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले सामाजिक न्याय लोकतन्त्रको आधार रहेको उल्लेख गर्दै नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति नगराए सम्म समाजको विकास हुन नसक्ने वताएका छन् ।
सामुदायिक मेलमिलाप तथा अभिमुखिकरण कार्यक्रम अन्तर्गत सबै वडामा सुरु गर्ने भनिएको कार्यक्रमको आज वालिङ १० वाट सुरु गरिएको कार्यक्रममा वोल्दै नगर प्रमुख खाँणले उक्त कुरा वताएका हुन । न्याय बिना सभ्यता, विकास र ज्ञानको परिकल्पना गर्न सकिदैन भन्दै खाँणले भने, ‘सरल र सहज न्यायले मात्रै समग्र मानव जातीको हित हुन सक्दछ ।’ मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकका लागि सामाजिक न्याय अपरिहार्य रहेको समेत वताएका थिए ।
नगर प्रमुख खाँणले न्याय, घर तथा समाजमा सहज रुपमा पाउने वातावरण तयार गर्न नगरपालिका सदैव लागि परेको जानकारी दिदैं गाँउ तथा टोलमानै न्याय तथा आत्म सम्मान पाईने वातावरणको सृजना गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरेका थिए ।
नगरपालिकाले पाईलट प्रोजेक्टकारुपमा यस अभियानलाई शुरु जानकारी गराउदै नगर प्रमुख खाँणले न्याय सम्पादन गर्दा दुवै पक्षको जित भएको महशुस हुनेगरी न्यायको अनुभूती दिलाउने नगरपालिकाको यस अभियानमा साथ दिन नगरवासीलाई आग्रह समेत गरेका थिए ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा वालिङ नगरपालिका न्यायिक समितीका संयोजक तथा उपप्रमुख कल्पना तिवारीले न्यायिक समितीले मेलमिलापकै आधारमा धेरै मुद्धा किनारा लगाएकोे जानकारी दिइन् । समाजमा हुने गरेका कानुनी विवाद तथा घटनाहरुको न्यायिक सम्पादन गर्ने दक्ष जनशक्ति उत्पादनका लागि कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै यस्ता कार्यक्रम तथा तालिमवाट उत्पादन भएका मेलमिलापकर्ताले समाजमा हुने घटना तथा विवाध समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने वताइन ।
कार्यक्रमम प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले दुवैलाई आत्सम्मान पुग्ने गरी समाजमानै मेलमिलाप गर्नु पर्ने बताउनु भयो । उहाँले समाजमा नै मेलमिलाप गर्दा उनीहरुको जीवन सहज बन्ने स्पष्ट पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद गैह्रे, वडा अध्यक्ष अनन्तराज गैह्रेले सामान्य घटनाको वडामा नै मेलमिलापको पहल गरिने जानकारी दिए ।
कार्यक्रमको सहजीकरण प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका संयोजक सीताराम पौडेलले सञ्चालन अनुसा काफ्लेले गरेकी थिइन् । वडा नम्वर १० को कार्यालय मोदिखोलामा आयोजना गरिएको कार्यक्रममा मेलमिलाप सम्वन्धी तालिमका लागि ६ जनाको समेत छनौट गरिएको छ । यस्तै सोमवारनै वालिङ नगरपालिकाको वडा नम्वर १४ मा कार्यक्रम गरिने समेत नगरपालिकाले जनाएको छ ।