मणी अर्याल
नेपाल सरकार मन्त्रि परिषदको मिति २०७४/३/२८ को निर्णयानुसार Smart City (स्मार्ट सिटि) को अवधारणा अनुरुप एकिकृत सहरी विकास तथा पूर्वाधार विकास गर्न अध्ययन सुरु गर्ने गरी १० स्थान तोकेको थियो । जसमध्ये एक वालिङ नगरपालिका पनि परेको छ ।
सुरुमा चर्चा गरौं के हो त स्मार्ट सिटि ? आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ । यस्तो आधुनिक शहरमा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण व्यवस्थित शहरको रुपमा पनि चित्रित गर्न सकिन्छ । यस्तो शहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारको रुपमा राखिएको हुन्छ ।
शहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिनेछन् र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिनेछ । स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक लाईटहरुको व्यवस्था गरिएको हुन्छ । सहर ठुलो भएपछि सबैभन्दा ठुलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले यस्तो समस्या समाधान गर्न स्वचालित रूपमा सवारी साधनलाई निर्देशन गर्ने संयन्त्र स्मार्ट सिटीमा हुन्छ । यहाँ सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हन्छ ।
स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुनेछ । चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्ने छैन । घरमै बसेर विशेषज्ञ उपचार हासिल गर्न सकिनेछ । त्यसैगरी, सडकमा विशेष खाले बत्ती हुनेछ, जसको चमक साँझ, राती र बिहानमा आवश्यक अनुसार फरक–फरक हुनेछ ।
हरेक घरमा पानी र बिजुलीको खपत कति भैरहेको छ भन्ने कार्यालयबाटै हेर्न सकिनेछ । यस्ता सहरमा फोहोर व्यवस्थापन पनि अत्याधुनिक हुनेछ । शहरको कुन ठाउँमा फोहोर थुप्रिएको छ भनेर हेर्न समेत सकिनेछ ।
अर्को विशेषता भनेको डाटा सेन्टर पनि हो । यस्ता केन्द्रहरूमा सहरबारे हरेक सूचना उपलब्ध हुनेछ । त्यसैगरी, अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेशन सिस्टम’ हुनेछ ।
अब बन्दै गरेको वालिङ नगरपालिकाको स्मार्ट सिटीको यथार्थ के हो त ? के अहिले नै नगरपालिका स्मार्ट उन्मुख भैसकेको हो त ? स्थानीय तहको २० वर्ष पछि मात्र तिन चरणमा निर्वाचन भएको हो । जसमध्ये वालिङ नगरपालिकाको २०७४ बैशाख ३१ गते निर्वाचन भयो । निर्वाचन उमंङ्गका साथ सकिएर नगरपालिकाले जनप्रतिनिधि पायो । त्यो भन्दा पहिला भने स्मार्ट सिटीको त्यति चर्चा नचलेपनि निर्वाचित जनप्रतिनिधि आएपछि भने वालिङमा यथार्थमै स्मार्ट बने झै भयो । नगरपालिकाले स्व्च्छ नेतृत्व पायो भन्ने पनि ब्यापक चर्चा भयो । निर्वाचन भएलगतै सवै राजनितिक दल, सामाजिक अभियन्ता, विषय विषेशज्ञ, व्यवसायी, स्थानीय सबैको सल्लाह अनुरुप स्मार्ट सिटी बनाउनको लागि घनिभुत रुपमा छलफल भयो र त्यहिँबाट स्मार्ट सिटीको अवधारणा अनुसार वालिङ नगरलाई ५ वर्ष भित्र स्मार्ट बनाउने २ भागमा बाडेर स्मार्ट सिटी र स्मार्ट भिलेजको अवधारण आयो ।
वालिङ नगरपालिकाका मेयरले स्मार्ट सिटी र स्मार्ट भिलेज बनाउने कार्यमा दिनरात लागेको देखिन्छ । देशभर चर्चा छ त स्मार्ट सिटी वालिङकै धेरै मिडियाहरुमा वालिङ नगरपालिकाले गरेका कामहरुको चर्चा राम्रै सुन्न पाइन्छ ।
मिडिया र अन्य बाहिर भनेझै यथार्थमा वालिङ स्मार्ट सिटी भएकै हो त ?
नगरपालिकाले सर्वप्रथम सुशासनका लागि आवश्यक पर्ने ऐन, नियम र कानून तयार पार्ने भन्यो । लगानी भित्र्याउने र लगानी सुरक्षा गर्ने कानून तयार गर्र्नेे ,उत्पादन तथा बजारमा स्थानीय सहभागिता बढाउने । तिनै कानून तथा नीतिको आधारमा रहेर वालिङले आँफुलाई स्मार्ट नगरपालिकाको मार्गमा अगाडि बढाउने रणनीति पनि सार्वजनिक भयो ।
यथार्थमा वालिङ नगरपालिका स्मार्ट बन्नको लागि जति वालिङ नगरपालिकाका मेयर सहित जनप्रतिनिधि यहि अनुसार जाने हो भने ५ वर्ष त के ५० वर्षमा पनि वालिङ स्मार्ट नहुने देखिन्छ । नगरपालिकाले स्थानीय तहको निवार्चन भएदेखिनै अबको १ वर्षमा यी काम गछौ भनेर प्रतिबद्धता पनि गरेको थियो । वालिङलाई आईओटी प्रविधिमा लैजाने अर्थात क्ष्लतभचलभत या त्जष्लपक नगरपालिकासँग सम्बन्धित कुनै पनि काम गर्नको लागि नगरपालिका कार्यालय र वडा कार्यालय पुग्नु पर्दैन । नगरपालिका लाई तिर्नुपर्ने कर घरमै बसेर इन्टरनेटको माध्यमबाट गराउने वालिङ नगरपालिका भित्रका स्मार्ट भिलेजको अवधारण अनुरुप सैवै वडामा सडक, स्वच्छ खानेपानीको व्यवस्था मिलाउने नगरपालिका क्षेत्रलाई शून्य फोहर क्षेत्र बनाउने नगरपालिकामा उत्पादन हुने फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्ने नगरपालिकामा उत्पादन हुने फोहोरबाट नगरपालिकाले जैविक मल बनाउने, मल बनाउन नमिल्ने फोहोर बिक्री गरेर नगरपालिकाले आम्दानि गर्ने धैरै कुरामा नगरपालिकाले प्रतिबद्धता जनाएको छ । स्मार्ट नगर र स्मार्ट भिलेज बन्नको निमित्त नगरापलिका भित्रका स्थानिय जनताहरुमा पनि स्मार्ट बनाउनु पर्ने कुरामा नगरपालिकाले चासो देखाएको भेटिदैन् ।
नगरपालिकाले अब आफ्नै घरबाट नगरको काम र अन्य कामहरु इन्टरनेटको माध्यमबाट गर्न सकिन्छ भने पनि त्यहाँका स्थानीयलाइ नै त्यो ज्ञान भएन भने प्रविधिको उपयोग कसरी गर्ने नगरपालिकाले यसलाई गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । आधारभूत आवश्यकता लाई वेवास्ता गरी ठुला–ठुला कुरालाई र भावनात्मक कुरामा जोड दिने हो भने स्मार्ट सिटी र भिलेजको अवधारणामा मात्र सीमित हुने देखिन्छ ।
वालिङ नगरपालिकामा अहिलेसम्म सुविधा सम्पन्न अस्पतालको निर्माण भैसकेको पनि छैन । खानेपानीको समस्या ज्यूका त्यूँ छन् । फोहोर व्यवस्थापन भने अनुसार काम अगाडि बढेको देखिदैन । गाउँका जमिनहरु बाँझै छन । गाँउहरुमा बाँदरको आतङ्क उस्तै देखिन्छ ।
स्मार्ट सिटी र स्मार्ट भिलेज बनाउनको लागि नगरपालिकाले मेहनत नगरेको पनि भन्न मिल्दैन, अझ रोचक कुरा त के छ भने वालिङ नगरपालिकामा को प्रतिपक्ष को सत्तापक्ष भन्ने नै देखिदैन वालिङ नगरपालिकामा निर्वाचनमा ७ नेकपा र ७ मा नेपाली काङ्ग्रेसले चुनाबमा विजयी भएका छन् भने मेयर र उपमेयर नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको छ । नगरको विकासगर्ने विषयमा कुनै कुरामा पनि प्रतिपक्षवाट असहमती भएको देखिदैन । तर काम कहाँ रोकिएको हो भन्ने विषयमा नगरपालिकाले गम्भिर भएर सोच्नुपर्ने भने देखिन्छ । नगरपालिकाले काम नगरेको भने होइन, इनोभेसन सेन्टर पनि स्थापना गरेको छ । इनोभेसन सेन्टरले नगरपालिकालाई प्रविधिमैत्री र स्मार्ट बनाउने छ । इनोभेसन सेन्टर मार्फत नगरपालिकाको क्षेत्र भित्रको पिउने पानीको शुद्धता मापन गर्ने, सडक तथा सरकारी कार्यालयमा सेन्सर जडित बत्तीको काम भईरहेको छ । सेन्सर जडित बत्ती भनेको मानिस आएपछि आफै बल्ने र मानिस नभएपछि आफै निभ्ने गर्छ ।
यस बाहेक नगरपालिकाले इनोभेसन सेन्टर मार्फत नै कुचो लगाउने, भाँडा माझ्ने र सडक सफा गर्ने रोबट पनि तयार गरेको छ । इनोभेसन सेन्टरका लागि नगरपालिकाले भारतबाट प्रविधि मगाएको थियो । नगर प्रमुख खाँणका अनुसार यो प्रविधि हस्तान्तरणको काम पनि भईरहेको छ । नगरपालिकाभित्र रहेका स्कुल तथा कलेजमा ८, ९, १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र विज्ञान शिक्षकलाई यो प्रविधि सिकाउने काम भईरहेको छ । तर यसको प्रभावकारी रुपमा काम भने भएको देखिदैन । सबै ठाउँमा बाँदर आतङ्कले हैरान पारेको छ । वालिङ नगरपालिकाले भने इनोभेसन सेन्टरबाट अल्ट्रासाउण्ड प्रविधिबाट बाँदर लखेट्ने प्रविधि र फोहोर सफागर्ने रोबट उत्पादन भइसक्यो भनेर जानकारी गराए पनि प्रयोग भएको पाइदैन । वाहिरवाट हेर्दा वालिङ सिलिकन हिल, पतञ्जलीले अरवौ लगानी गरेको ठाँउ, नयाँ प्रविधिको आविस्कार गरेको नगर, फोहरमैलावाट झण्डै एक करोड आम्दानी गर्न सफल नगर भन्दै देशका विभिन्न ठाँउहरुवाट यसको अध्यायनका लागि मानिस आइरहेका छन् । तर, वालिङमा शुद्ध पिउने पानी, विजुली, सडक, अस्पताल लगायतको विषयमा अझै नागरिकले सास्ती वेहोर्नु परिरहेको यथार्थ हामी संग छदैछ ।
वालिङ नगरले प्रयास भने नगरेको छैन । तर नगरबासीको पनि उत्तिकै जिम्मेवारी हुन्छ भन्ने कुरा स्थानिय जनताले पनि बुझ्न आवश्यक देखिन्छ । नगरलाइ स्मार्ट बनाउँन तपाईं हाम्रो पनि उत्तिकै जिम्मेवारी हुन्छ ।
भनिन्छ उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भनेझै वालिङ नगरपालिका माहान अभियानमा जुटेको छ । वालिङ जेसीजले सुरु गरेको पिंक सिटी नगरपालिकाले नीतिगत निर्णय गरेर कार्यक्रम अगाडी सारेको दुइवर्षमा राम्रो प्रतिफल प्राप्त गरेको छ । यस्तै स्मार्ट सिटीको न्यूनतम पूर्वाधार विकासमा नगरपालिकाले गरेको उल्लेख्य कार्य नदेख्दा नागरिक कतै स्मार्ट सिटीको अभियान तुहिने त होइन भन्ने शंकामा रहेका छन् । वालिङ नगरको विकास जनप्रतिनिधीले मात्र सम्भव पनि छैन, नागरिक सचेत भएर आजवाटै स्मार्ट नगरको न्यूनतम पूर्वाधार विकासमा जुटौ र समृद्ध नगर निर्माणको अभियानमा लागौ ।
लेखक : वालिङ टेलिभिजिनका सन्चालक हुन ।