काठमाडौं २३, साउन ।
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेको उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह गरी रिक्त ५० पदमा मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति ‘कट अफ डेट’ तोकेको हो ।
मतदाता नामावली ऐनअनुसार निर्वाचनको मिति घोषणा भएको दिन मतदाता नामावलीमा नाम दर्ता भएका र १८ वर्ष उमेर पुगेकालाई मात्रै मताधिकार प्राप्त हुने व्यवस्था छ ।
आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार आयोग बैठकले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई आयोगबाट अर्को निर्णय नभएसम्मका लागि रोक्ने निर्णय पनि गरेको छ ।
उपनिर्वाचनका लागि अब मतदाता नामावलीमा नाम समावेश गर्न नपाइने कानुनी प्रावधान छ ।