हिमदुत सम्वाददाता
काठमाण्डौ, २३ साउन ।
पछिल्लो समय लगातार बढिरहेको सुनको मुल्य बुधबार पनि एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। गत ६ दिनदेखि निरन्तर सुनको मूल्य उच्च रुपले बढेर दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ।
नेपाल सुनचाँदी महासंघको अनुसार बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
त्यसैगरी सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। बुधबार चाँदी अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको माहासंघले जनाएको छ।
खासमा सुनको मूल्य किन यसरी बढिरहेको छ त रु यो सबै अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएका कारण भएको हो । फेडरल रिजर्भ बैंक अमेरिकाको केन्द्रीय बैंक हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बैंकलेले ०।२५ प्रतिशतले ब्याजदर घटाएको छ, त्यसले गर्दा लगानीकर्ता सुनमा आकर्षित भएका हुन् ।
विश्वभरि मानिसहरुले सुन तथा अमेरिकी डरललाई सम्पत्ती मान्ने हुनाले आफ्नो सम्पत्ती सुन वा डलरमा संचय गर्न खोज्छन् भन्ने मान्यता छ । त्यसैले सुन र अमेरिकी डलरको बिचमा विपरित सम्बन्ध कायम हुने गरेको छ । डलरको संचय बढाउन खोज्दा माग बढ्छ र डलरको मूल्य बढ्छ, यसले गर्दा मानिसहरु सुनको माग घटाउँछन् । माग घटेपछि स्वभावैले मूल्य पनि झर्छ । यसको ठिक विपरित, मानिसहरुले सुनको माग बढाएमा मूल्य बढ्छ र डलरको माग घटेकैले मूल्य पनि घट्छ ।
उता नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ।