हिमदुत सम्वाददाता
२२ साउन ÷काठमाण्डौ ।
भारतीय जनता पार्टीकी नेत्री तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनवाट आफू स्तव्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सिंगापुरमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री ओलीले स्वराजको निधनको खवर प्राप्त भएपछि सामाजिक संजाल ट्वीटर मार्फत समवेदना प्रकट गरेका हुन् ।
बुधबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले भारत सरकार, जनता र परिवारका सदस्यलाई हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन । सुष्माले आफूलाई ‘ब्रदर’ भन्ने गरेको प्रधानमन्त्रीले स्मरण गरेका छन ।
यसैगरी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ट्विट मार्फत प्रतिबद्धता, दृष्टिकोण र आध्यात्मिकता भएको नेताको निधनप्रति भारत सरकार, जनता र परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन् ।
टाउको दुखेर एम्स अस्पतालमा भर्ना भएकी स्वराजको ६७ वर्षको उमेरमा मंगलवार राति निधन भएको थियो । उनको स्वर्गारोहण हृदयघातका कारण भएको जनाइएको छ । स्वराजलाई प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालको सफल विदेशमन्त्रीका रूपमा व्याख्या गरिन्छ ।