हिमदुत सम्वाददाता
स्याङ्जा २२, साउन ।
सरकारले देशभरवाट विप्लवका कार्यकर्ता पक्राउ गरी मुद्दा चलाउन थालेपछि स्याङ्जामा धमाधम राजिनामा दिने क्रम वढेको छ । स्याङ्जाको भिरकोट नगरपालिकाका दुई विप्लव नेतृत्वका कार्यकता आज भिरकोट नगरपालिकाका जनप्रतिनिधीको रहोवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेमा विप्लव नेतृत्व माओवादीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक भिरकोट नगरपालिका वाड नं ७ का शेरवहादुर राना र अर्का कार्यकर्ता भिरकोट १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, आफू क्रियाशिल रहेको पार्टी विप्लव समुहले हिंशात्मक गतिविधि र एकिकृत जनक्रान्तिको कार्य दिशा छाडेकोले आफ्नो स्वास्थ्य कमजोर भई सो पार्टीमा रहि काम गर्न नसक्ने भएकोले आजको मितिवाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीमा मेरो कुनै सम्वन्ध नरहेको र नेपाल कम्यूनिष्ट पार्टी विप्लवको साधारण सदस्य समेत नरहने गरि कुनैपनि पार्टीमा नलाग्ने र स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकोले पार्टीवाट राजीनामा दिएको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा भिरकोट नगरपालिकाकी उपमेयर सिमा केसी कर्माचार्यले विप्लव नेतृत्वको माओवादीलाई हिंशात्मक गतिविधि छाडेर शान्तिपुर्ण राजनीतिमा आउन आग्रह गरिन । पत्रकार सम्मेलनमा भिरकोट नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता समेत रहेको थियो ।