हिमदुत सम्वाददाता
कृषिवाट नगरको आर्थिक विकास गर्ने लक्षका साथ अगाडी वढेको गल्याङ नगरपालिकाले कृषकहरुलाई चार तहमा वर्गिकरण गर्ने भएको छ । कृषि र पशुको योजना तर्जुमा गोष्ठीले नगरपालिका भित्रका कृषकलाई चार तहमा वर्गीकरण गर्ने निर्णय गरेको हो ।
कृषकहरुको वर्गिकरण गरी उनीहरुलाई आत्मनिर्भर र व्यवसायीक वनाउन नगरपालिकाले विभिन्न खालको सहयोग गर्ने नगरपालिकाले आयोजना गरेको गोष्ठीमा वताइएको हो । दुध र सुर्यमुखी खेती विस्तारको बारेमा विभिन्न निर्णय गर्दै गोष्ठीमा कार्यविधि बनाई सबै कृषकलाई परिचयपत्र बाँड्ने र परिचयपत्रका आधारमा अनुदान उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
गोष्ठीको निर्णयबारे जानकारी दिदै गल्याङ नगरपालिका कृषि शाखा प्रमुख सुशील अर्यालले कृषकको वर्गिकरण व्यवसायिक, व्यवसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी चार तहमा कृषकहरुलाई वर्गिकरण गरी उनीहरुको क्षमता अभिवृद्धि देखि अनुदान मार्फत कृषिमा नगरपालिका अव्वल वनाउने रणनीति लिएको अर्यालले वताए ।
व्यवसायिक कृषकका लागि कम्तिमा ५० वटा दुधालु माउ पशु वा ५० वटा बाख्रा वा दश रोपनी जग्गामा व्यवसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यवसायिक कृषि खेतीमा संलग्न हुने कृषकहरु पर्दछन् । यस्तै, व्यवसायिक उन्मुख कृषकहरुमा २० देखि ४९ वटा दुधालु माउ पशु वा २० देखि ५० बाख्रा वा तीन रोपनीमा व्यवसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषि खेती गर्ने किसानहरुलाई राखिएको छ ।
नगरपालिकाले बनाएको मापदण्डमा साना किसान अन्तर्गत पाँच देखि १९ वटा सम्म दुधालु माउ पशु वा सोही संख्यामा बाख्रा वा एक देखि तीन रोपनीसम्म व्यवसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषि खेती गर्ने किसानहरुलाई राखिएको छ ।
यस्तै, निर्वाहमुखी किसान अन्तर्गत पाँच वटा सम्म दुधालु माउ पशु वा एक रोपनी भन्दा कम क्षेत्रमा खेती गर्ने वा एक देखि १५ वटासम्म बाख्रा पालन गर्ने किसानहरुलाई राखिएको छ । यही मापदण्डका आधारमा कृषकलाई अनुदान वितरण गरीने समेत नगरपालिकाले जनाएको छ ।
गोष्ठीमा परम्परागत खेती कोदो तथा गेडागुडी खेतीको संरक्षणका लागि उत्पादनमा आधारित अनुदान दिने निर्णय गरेको छ । भने यस वर्ष नगरपालिकाबाट दैनिक पाँच हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । यसैगरी भैंसी वा गाई खरिदमा लाग्ने नौ प्रतिशत व्याज मध्ये चार प्रतिशत नगरपालिकाले व्यहोर्ने भएको छ । यसैगरी गोठ निर्माणमा तथा मेसिनमा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि नगरपालिकाले गरेको छ ।
यस्तै दुई दिनसम्म चलेको गोष्ठीले सुर्यमुखी खेतीका लागि विशेष योजना ल्याएको छ । गोष्ठीले नगरपालिकाका सबै क्षेत्रमा सुर्यमुखी उत्पादन गरी तेलको निर्यात समेत गर्ने लक्ष्य लिएको छ । पानी नजम्ने प्रायः सबै ठाउँमा उत्पादन हुने भएकाले गल्याङ नगरपालिका यसका लागि उपयुक्त क्षेत्र रहेको गोष्ठीमा सहभागी भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र स्याङ्जाका प्रमुख विज्ञ विश्व गौतमले वताए ।
गोष्ठीमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी तथा गल्याङ नगरपालिका पशु शाखा प्रमुख श्रिदेब चौधरी लगायतको उपस्थिति रहेको थियो ।