?
काठमाडौं, १० भदौ ।
गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुन् ।
पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् । कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वाथ्यमा सुधार देखिएको छ । पेडा खाएको केही समयपछि बेहोस भएका उनलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो ।
आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ। उपचारार्थ भर्ना भएका आचार्यको अवस्था चिन्ताजनक रहेको खबर सुनेपछि पतञ्जली नेपालका ट्रस्टी शालिकराम सिंह, पूर्वअध्यक्ष शम्भु दाहाल, उपेन्द्र महतो, योग गुरु लवदेव मिश्र, पतञ्जलीका कोषाध्यक्ष ओम वंशल, प्रदेश ३ का संयोजक ग्रोपेन तौजले, महिला विभाग प्रमुख अर्चना घिमिरे, केन्द्रीय सदस्य गणपति मण्डल, सेवा आश्रम प्रमुख देवकृष्णलगायको टोली शनिबार हरिद्वार पुगेको थियो।
अहिले उनको अवस्था सामान्य रहेको र हरिद्वारस्थित कनखल आश्रममा आराम गरिरहेको नेपालस्थित पतञ्जली योगपीठका पूर्वअध्यक्ष शम्भु दाहालले बताए । नेपाल समाचारपत्र दैनिकबाट ।