काठमाडौं ५ भदौ।
कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् ।
श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर गएका थिए । उनी सम्पर्कमा आइसकेका छन ।
पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको छ । चालिसेको खोजीका लागि शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए।