काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको सम्भावना नरहेको जिकिर गरेका छन् । आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनस्स्थापना हुन नसक्ने बताएका छन् ।
आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनस्स्थापना नहुने बताए ।
नेकपाको अर्को पक्ष पुष्पकमल प्रचण्ड-माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनस्स्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, ‘संविधानअनुसार विघटन भएको संसद पुनस्स्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनस्स्थापना हुँदैन,’ उनले थपे, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुनस्स्थापना हुन सक्दैन ।’