काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अपमान गरेको आरोप लगाएका छन् ।
उनले पार्टी कमिटीको बैठक बोलाउन निवेदन हाल्नुपर्ने परिस्थिति ‘लज्जाजनक’ रहेको बताए ।
आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले एक जनाको जिद्दीका कारण पार्टी नै समाप्त हुन लागेको र बैठक बोलाउन समेत निवेदन हाल्नुपर्ने लज्जाजनक परिस्थिति पैदा भएको टिप्पणी गरेका हुन् ।
बैठकको शुरुमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमाथि अपमानसमेत गरेको आरोप लगाए ।
‘पार्टीको अवस्था यस्तोसम्म आयो कमरेडहरू, बैठक बोलाउन पनि निवेदन हाल्नुपर्ने परिस्थिति सिर्जना भयो । यो अत्यन्तै लज्जाजनक परिस्थिति हो । यसरी न पार्टी उँभो लाग्छ न त देश नै,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने ।
उनले गणतन्त्रको रक्षाका लागि पटक-पटक त्याग गरेको र आवश्यक पर्दा अझ बढी त्याग गर्नेसमेत बताए ।
बैठकमा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीले पठाएको पत्र वाचन गरेका थिए ।
ओलीले सचिवालयमा पेश गरिएको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडान पत्रमार्फत सार्वजनिक गरेका छन् ।
यस्तो छ अध्यक्ष ओलीको पत्र
‘
स्थायी कमिटी सदस्य भीम रावलले ओली भौतिक रूपमा उपस्थित नभए पनि पत्र पठाएपछि त्यसलाई उपस्थिति नै मान्नुपर्ने तर्क गरेका थिए ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले भने, ‘पत्र पठाउनु भनेको राजनीतिक भाषामा उपस्थित हुनु जस्तै हो । प्रधानमन्त्री ओली या अन्य कुनै एकजना सहमत नभए पनि बैठक निर्णयबिहीन बन्न सक्दैन । बैठकका आफ्ना विधि र प्रक्रिया हुन्छन् त्यही अनुसार निर्णय गरेर अघि बढ्छ ।’
स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ओलीले धम्कीपूर्ण भाषासहित पत्र पठाएको भन्दै आपत्ति जनाएकी थिइन् । अर्का स्थायी कमिटी सदस्य मात्रिका यादवले ओलीको दम्भ अझै बढेर गएको टिप्पणी गरेका थिए।
बैठकपछि सञ्चारकर्मीहरूलाई ब्रिफिङ गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्सिर २८ गतेसम्म बैठक स्थगित गर्ने निर्णय भएको जानकारी गराए ।
यसअघि मङ्सिर २५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।