हिमदुत सम्वाददाता
शुक्रबार, साउन २४, २०७६
डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित तिन जनालार्ई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई सडक डिभिजन कार्यालयको सरकारी निवासवाट नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए ।
सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि गौतमसंग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ । गौतम घुस बापतको रकम दिए लगत्तै उक्त सडक डिभिजनको सरकारी निवासवाट फरार भएकाले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उता अख्तियार पोखराका प्रमुख काशिराज दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकमको स्रोतका विषयमा भने अनुसन्धान भइरहेको वताएका छन् ।
उनले भने, “अख्तियार टोलीले सडक कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरेको सत्य हो । अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।”