वालिङ, ८ असोज ।
वालिङ् नगरपालिका १४ तमादीमा पहिरोले घर पुरिँदा बेपत्ता रहेकामध्ये सबैको शव भेटिएको छ। पहिरोका कारण तमादीमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।
पछिल्लो पटक मृत भेटिनेमा १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाका एक बालक रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
यस अगाडि बिहान पहिरोमा पुरिएका २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव निकालिएको थियो।
पहिरोमा परेर ४ महिला, ४ पुरुष र एक ७ महिने नाबालकको ज्यान गएको हो। तमादिमा पुरिएर ज्यान गुमाउने ८ जना एकाघरका हुन् भने उमाकला नेपाली पाहुना थिइन्। पुरिएको अवस्थामा जीवितै उद्धार गरिएकी १७ वर्षे मनिषा नेपालीको भने पोखरामा उपचार भइरहेको छ।
स्याङजामा तीनदिनदेखि बर्षा जारी छ। वर्षाका कारण पहिरो जादाँ कालीगण्डकी गाउँपालिका ४ गौतमडाँडामा जगतबहादुर दमै र बाबुराम दमैको घर भत्केको छ भने बाबुराम दमैका छोरा १८ वर्षीय कृष्ण दमैको मृत्यु भएको चक्र पाण्डेले जानकारी दिए।
स्याङजामा अविरल वर्षा संगै पहिरोमा परि ज्यान जानेको संख्या १० पुगेको छ।