स्याङ्जा—३० असार ।
अविरल वर्षाका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ४ खहरेमा मंगलबार बिहान पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । पहिरोमा परी २ जना घाईते भएका छन् ।
पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष ७० वर्षिय इमान सिंह राना सहित वर्ष ६० का गिमानसिंह राना र ५० वर्षिय टिका थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । इमान साविकको विर्घा गाउँ विकास समितिका पूर्व अध्यक्ष हुन् ।
बिर्घाकै हुमाकान्त पाण्डे र बुद्ध रानालाई घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा परी स्थानीय प्रेमचन्द्र पाण्डे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको र घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिशन अस्पताल लगिएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिए । घाइते हुमाकान्त पाण्डे वडा नम्बर ४ का वडा सदस्य हुन् ।
गाउँमा खानेपानीको धारामा पानी नआएपछि पानीको मुलमा मर्मतका लागि पुगेका उनीहरूलाई माथिबाट झरेको पहिरोले पुरेको बताइएको छ । पहिरोमा पुरिएकाको उद्धार र खोजी कार्य जारी रहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
घट्नास्थलमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख विमलराज कणेल सहित नेपाली सेना र शसस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य अगाडी बढाइएको बताइएको छ । पहिरोका कारण विस्थापित ४ घरका परिवारलाई छिमेकीको घरमा सारिएको स्थानीय समाजसेवी युवा जे.के पाण्डेले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि गह्रौ ध्याङ्लिङ अस्पताल वालिङमा ल्याइएको छ ।
त्यसैगरि स्याङ्जाको चापाकोट नगरपालिकाका राम पौडेल सम्पर्क विहिन भएका छन् । चापाकोट नगरपालिका वडा नं. ३ काम्तीका २५ वर्षीय रामप्रसाद पौडेल सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफ्नै खेतमा जोत्न जान्छु भनी एक हल गोरु लिएर हिडेका पौडेल ज्याग्दी खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।