तोलाकान्त बगाले
वालिङ, ११ चैत ।
विश्वभर माहामारीको रुप लिइरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमणवाट नेपाललाई सुरक्षित राख्न सरकारका सबै युनिट यतिवेला लागि परिरहेका छन् । भने देशभर लक डाउन गरेर सर्वसाधारणलाई घर बाहिर निस्कन दिइएको छैन् ।
सरकारले विदेशवाट आएका मानिसहरुमा संक्रमणको जोखिम रहेका कारणले प्रत्येक स्थानीय तहका वडा वडामा ति मानिसहरुको खोजि र उनीहरुको अवस्थाका वारेमा जानकारी लिइरहेको छ । वालिङ नगरपालिकाले पनि आफ्नो सबै वडाहरुमा विदेशवाट आएका मानिसहरुको खोजि गरि होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।
नगरको विभिन्न वडामा विदेशबाट आएका २१ जनालाई होम क्वारेन्टाईनमा बस्न लगाएको छ भने उनीहरुको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिन र नगरपालिकालाई जानकारी गराउन परिवारलाई सुझाव दिएको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को सचेतना स्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा पुगेर उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका ब्यक्तिहरुको तथ्यांक संकलन गरिरहेका छौं” नगर प्रमुख खाँणले भने, “विदेशबाट फर्किएका ब्यक्तिहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव सहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं ।”
विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलबासीहरुलाई आग्रह गरेका छन् । स्थानीय टोलबासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले वताईन ।
“विदेशबाट फर्किनुभएकाहरुलाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं” उपप्रमुख तिवारीले भनिन्, “उहाँहरुको इच्छा अनुसार होम क्वारेन्टाईनमा बस्न छाडेका छौं बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं ।”
भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले आग्रह गरेका छन् । कोभिड १९ फैलिन नदिनका लागि प्रशासन संवेदनशील भएर लागेको छ यस्तो अवस्थामा सबैले लागू भएको नियमलाई कडाईका साथ कार्यान्वयन गरी सहयोग गर्न अपील गरिएको ईलाका प्रशासन कार्यालय प्रमुख शर्माले बताए । लकडाउनको अवज्ञा गर्नेलाई प्रशासनले कानून बमोजिम कारबाही गर्ने समेत उनले जानकारी दिए ।
हाम्रो आफ्नै लागि लकडाउनको निर्णय भएका कारणले पनि नगरबासीहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिंदै निर्णय पालना गर्नु नै हितकर हुने नगर प्रवक्ता केदार काफ्लेले बताएका छन् । होम क्वारेन्टाईनमा बस्नेहरुले घरमा छुट्टै बस्दा परिवार तथा अन्य समुदायसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहनुपर्ने प्रवक्ता काफ्लेले आग्रह गरेका छन् ।
सोमबार र मंगलबार गरी नगरभित्रका १,२, ८, ९, ११, १२ र १३ नं. वडाका टोलका घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकहरुलाई आँफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । होम क्वारेन्टाईनमा बसेकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिईएको छ ।